२०८२ भदौ ८
रामेछाप — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा रामेछापको गोकुलगंगा गाउँपालिका शीर्ष स्थानमा उक्लिएको छ।

गोकुलगंगाले यस वर्ष ८२ अंक हासिल गर्दै जिल्लाका अन्य सात स्थानीय तहलाई पछि पार्यो। अघिल्लो वर्ष (२०७९/०८०) मा मात्र ४६ अंक पाएको गोकुलगंगाले छोटो समयमा उल्लेखनीय सुधार गर्दै पहिलो स्थान सुरक्षित गरेको हो।
दोस्रो स्थानमा मन्थली नगरपालिका रह्यो। यसले ८१.२५ अंक ल्याएको छ। अघिल्लो वर्षको ७४.५० अंकको तुलनामा यसपालि मन्थलीले उल्लेख्य प्रगति देखाएको छ।
तेस्रो स्थानमा ७९.५० अंकसहित सुनापति गाउँपालिका परेको छ। अघिल्लो वर्षको ७४.२५ अंकभन्दा बढी अंक प्राप्त गर्दै सुनापतिले निरन्तर सुधार देखाएको छ।
रामेछाप नगरपालिका भने यसपालि चौथो स्थानमा सीमित रह्यो। यसले ६६.५० अंक मात्र पायो, जुन अघिल्लो वर्षको ७१.५० भन्दा कम हो।
उमाकुण्ड गाउँपालिकाले पनि आफ्नो अंक घटाएको छ। अघिल्लो वर्ष ७० अंक पाएको उमाकुण्डले यसपालि ६३ अंक मात्र प्राप्त गर्दै पाँचौँ स्थानमा चित्त बुझाउनु परेको छ।
खाँडादेवी गाउँपालिकाले भने प्रगति गर्दै ६२.७५ अंक ल्याएको छ। यस आधारमा यो गाउँपालिका छैठौँ स्थानमा परेको छ।
लिखुतामाकोशी गाउँपालिकाले ५६ अंक पाउँदै सातौँ स्थान ओगटेको छ। अघिल्लो वर्ष ४७.७५ अंक मात्र पाएको यस पालिकाले सुधार गर्दै अंक वृद्धि गर्न सफल भएको छ।
तर, अघिल्लो वर्ष ६१.२५ अंक ल्याएको दोरम्बा शैलुङ्ग गाउँपालिकाको यस वर्षको परिणाम भने मन्त्रालयले सार्वजनिक गरेको सूचीकृत तथ्याङ्कमा समावेश गरिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?