RBN Online खबर

महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमा अल्झियो कांग्रेस

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसभित्र पहिले महाधिवेशन कि निर्वाचन भन्ने बहस सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारमा देखिएका छन् । धारणा राख्ने एकथरी नेताहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अगाडि विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् भने एक पक्षका नेताहरूले निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । 

महाधिवेशन छिटो गर्नुपर्छ भन्ने नेताहरूले कांग्रेसलाई नयाँ पुस्ताको हातमा दिने र ‘नयाँ सोचसहितको पुनरुत्थान’ आवश्यक रहेको बताएका छन् । त्यसको विपक्षमा रहेका नेताहरूले तत्काल महाधिवेशनले एकता होइन, विभाजन निम्त्याउने र निर्वाचनमा कमजोर बनाउने चेतावनी दिएका छन् । निर्वाचनपछि महाधिवेशन भन्ने नेताहरूले हतारमा महाधिवेशन गर्नाले पार्टी राजनीतिक जालोमा फस्ने बताएका छन् । 

बुधबारको बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य उदयशमशेर राणाले विशेष महाधिवेशनलाई ‘महाभारतको चक्रव्यूह’सँग तुलना गरे । ‘हामी त्यसमा छिर्छौँ तर निस्किन सक्दैनौँ,’ उनले भने । राणाले कांग्रेसले अहिले राष्ट्रिय राजनीतिमा आफ्नो एजेन्डा स्पष्ट गर्नुपर्ने बेला भएपछि बैठक पार्टीको आन्तरिक शक्ति सन्तुलनमा मात्रै सीमित रहेको बताए ।

कर्णालीका पूर्वमुख्यमन्त्री तथा केन्द्रीय सदस्य जीवनबहादुर शाही पनि विशेष महाधिवेशनको विपक्षमा देखिए । शाहीले बैठकमा भने, ‘विशेष महाधिवेशनले पार्टीमा विग्रह ल्याउँछ । अहिलेको समयमा त्यो आवश्यक छैन ।’ शाहीले संकलित ५४ प्रतिशत हस्ताक्षरमा पनि शंका व्यक्त गरे । ‘करिब सबैको कार्यकाल सकिन लागेको अवस्थामा कसरी विशेष महाधिवेशन सम्भव हुन्छ ?,’ शाहीले भने । 

पार्टीको १४ औँ महाधिवेशनमा अहिलेको संस्थापन प्यानलबाट सहमहामन्त्री फरमुल्लाह मन्सुर महामन्त्री गगन थापाको प्रस्तावका पक्षमा देखिए । थापाले आगामी पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने कार्यतालिका बैठकमा पेस गरेका छन् । त्यसो हुन नसके विशेष महाधिवेशन गरेर भए पनि नयाँ नेतृत्व बनाई निर्वाचनमा जानुपर्ने महामन्त्री थापाको भनाइ छ । सहमहामन्त्री मन्सुरले थापालाई भावी सभापति र प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने प्रस्ताव बैठकमा राखे । ‘जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई अघि सारेर निर्वाचनमा जानुपर्छ,’ मन्सुरले भने ।  मन्सुरले गगन थापाको सक्रियताले नै विशेष महाधिवेशनका लागि बहुमत हस्ताक्षर सम्भव भएको दाबी गरे ।

बैठकको सुरुवातमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार नियमित महाधिवेशनका सन्दर्भमा पेस भएका दुई कार्यतालिकामध्ये सहमहामन्त्री महेन्द्र यादवको कार्यतालिकालाई व्यक्तिगत प्रस्ताव भएको प्रष्टीकरण दिएका थिए । नेताहरूले दुई कार्यतालिकाको विषयमा कुरा उठाएपछि कार्यवाहक सभापति खड्काले त्यस्तो प्रष्टीकरण दिएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top