
रुपन्देही । सबैतिर लगानीको वातावरण नभएको निराशाका खबर आइरहेका बेला रुपन्देहीमा अर्बौंका लगानीका ठूला उद्योग, होटल तथा अस्पतालहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । ती उद्योगहरुबाट उत्पादित वस्तुहरु स्वेदशको मात्रै नभई विदेशमा निर्यात पनि थालिएकाले बढ्दै गएको निराशालाई सकारात्मक सन्देश दिएको र रोजगारीको सृजना पनि गरेको छ ।

तर अस्थिर राजनीतिका र आन्दोलनमा पहिलो निशाना नै निजी क्षेत्र भएकाले यसलाई रोक्न सामूहिक प्रतिबद्धता चाहिने आवाज पनि उठ्न थालेको छ । अहिले भैरहवादेखि नवलपरासीको भूमही खण्ड र मुख्य मार्गभन्दा भित्र ठूला उद्योग बढी रहेका छन् । पछिल्ला केही वर्षमा अर्बौंको लगानीमा दर्जनौं धेरै ठूला र बहुराष्ट्रिय कम्पनी स्थापना भइसकेका छन् ।
रुपन्देहीका उद्योगी कृष्ण पौडेलले सञ्चालनमा ल्याएको फर्स्ट च्वाइस फूड्स प्रालिले अमेरिका निर्यात थालेको छ । यसअघि दैनिक एक कन्टेनर फ्रेन्च फ्राइ भारत निर्यात गर्दै आएको उसले अब अमेरिकासँगै युरोपमा अन्य देशमा पनि निर्यातको योजना बनाइसकेको छ ।

दुई अर्ब लगानीमा जिल्लाको शुद्धोधन गाउँपालिकामा सञ्चालित उद्योगमा ठूलो परिणाममा फ्रेन्च फ्राइ उत्पादन हुन्छ । कुल उत्पादनको एक तिहाइ भारततर्फ निकासी भइरहेको छ । उद्योगले फ्रेन्च फ्राइज, आलु टिक्की, स्माइलिज र ह्यास ब्राउन उत्पादन गर्छ । उद्योगका अनुसार अहिले ७५ प्रतिशत आयात विस्थापन गरिसकेको छ ।
पौडेलले आफ्ना उत्पादन मात्र निर्यात गरेका होइनन्, १९ जिल्लाका किसानलाई उद्योगसँग जोडेर आलु खेती प्रोत्साहन र उत्पादित आलु खरिदको ग्यारेन्टी समेत गरेका छन् । ‘नेपाल सम्पूर्ण रूपमा परनिर्भर रहेको फ्रेन्च फ्राइज हामीले निर्यात गर्न थालेका छौं, नेपाली बजारसँगै विश्व बजारमा पनि निकासीले नेपाली उद्योगले फड्को मार्ने अपेक्षा हाम्रो छ, यो निकै खुसीको कुरा हो’ पौडेल भन्छन् ।
रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड बढी लगानीमा सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन गर्ने भएको छ । भैरहवा सेजभित्र १ बिघा १३ कठ्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको सुरुवातमै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिन उद्योग स्थापना गर्न लागिएको जनाएका थिए । यसको काम भइरहेको छ । यहाँबाट नेपाली बजारका साथै युरोपेली मुलुक र अमेरिकामा तयारी पोशाक निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गर्न लागिएको हो ।
उद्योग स्थापना भई सञ्चालनमा आउँदा १ हजार २०० भन्दा बढीले रोजगार पाउने छन् । उद्योग निर्माणसँगै आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा प्रशिक्षणको काम एकसाथ अघि बढाइएको छ । उनका अनुसार भाटभटेनीका स्टोरहरुमा पनि यस उद्योगबाट उत्पादित सामग्री पाइने र स्थानीय बजारमा पनि पुर्याउने लक्ष्य राखिएको छ ।
सेजभित्र स्थापना गर्न लागिएको गार्मेन्ट उद्योगको समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत रहेका छन् । भाटभटेनीका अहिले देशभर जेनजी आन्दोलनमा आगजनी हुनुअघि २८ वटा सुपरस्टोर सञ्चालनमा थिए । त्यसबाहेक होटल, हाइड्रोमा पनि लगानी रहेको छ ।
सेजमा भाटभटेनी भित्रिएर निर्यातजन्य ठूलो उद्योग सञ्चालनमा आएपछि यसले लुम्बिनी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा निजी क्षेत्रले गरेको छ । उद्योगमा १ हजार २०० भन्दा बढीले रोजगारी पाउने र उत्पादित वस्तु ८० प्रतिशत निर्यात गरिने बताइएको छ ।
भैरहवाको सेजमा उद्योगी अजयमान श्रेष्ठले संचालन गरेको फर्निस आयल विदेश निर्यात भइरहेको छ । इको नेपाल इनर्जी इण्डष्ट्रिज प्रा.लि.ले फर्नेस आयल उत्पादन गरिरहेको हो । औद्योगिक उर्जा उत्पादनको लागि इको नेपाल इण्डष्ट्रिज प्रा.लि. स्थापना गरिएको र सोही अनुसार व्यवसायिक उत्पादन सुरु गरिएको उद्योगका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए ।
स्थानीय कच्चा पदार्थमा आधारित यो उद्योगले फर्नेस आयल (औद्योगिक तेल) उत्पादन गर्छ संचालक श्रेष्ठले भने—‘यसले फोहर र खेर गैरहेका रबरजन्य बस्तुहरुबाट फर्नेस आयल उत्पादन हुन्छ यसलाई पाइरोलाइसिस आयल पनि भनिन्छ ।’
यो विशेष गरेर सडक निर्माण, बिस्कुट उद्योग, सिमेन्ट कारखाना, स्टील कारखाना, बोइलरहरु, सेरामिक उद्योग, ईट्टा कारखाना, हट वाटर जेनरेटर, हट एयर जेनरेटर लगायतमा उपयोग हुन्छ । यो उद्योगबाट निस्कने बाईप्रोडक्टहरु ब्लाक क्याट ब्राण्डको ब्लाक कार्वन र स्टिल तारहरु अन्य उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै यो उद्योगका बाईप्रोडक्ट कालो पाउडर र स्टील तारहरु समेत अन्य उद्योगहरुको कच्चा पदार्थका रूपमा उपयोग हुन्छन् ।
रुपन्देहीमै यशोदा फूड्स प्रोडक्सनबाट उत्पादित करेन्ट चाउचाउ भारत, अमेरिका अस्ट्रेलियासहित देशमा निर्यात भइरहेको छ । पिरो र मसलेदार स्वादको करेन्ट स्वदेशसँगै विश्वका धेरै देशमा रोजाइमा परेपछि यशोदाले वार्षिक करोडौंको चाउचाउ निर्यात गर्न थालेको हो ।
‘निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा आएपछि रुपन्देही केन्द्रित ठूला लगानीका उद्योगहरू अझै बढ्ने देखिन्छ, भारतका ठूला २५ वटा शहरसहित विश्वका २० भन्दा बढी देशमा चाउचाउ निर्यात भइरहेको छ । निर्यातका लागि भैरहवा नाका सहज छ । ’ उद्योगका सञ्चालक भूमिराज पौडेलले भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












