२०८२ मङ्सिर २४
रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक समाप्त हुँदासम्म कुल बजेटको करिब १४ प्रतिशत खर्च गरेको जानकारी दिएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले चालू र पूँजीगत दुवै शीर्षकमा भएको खर्चको विवरण सार्वजनिक गर्दै हालसम्मको कार्य प्रगतिबारे अवगत गराउनुभएको हो।

उहाँका अनुसार चालू खर्चतर्फ ११ करोड ३३ लाख ९५ हजार ३४ रुपैयाँ अर्थात २१.८७ प्रतिशत र पूँजीगत खर्चतर्फ ५७ लाख ६४ हजार ८२४ रुपैयाँ अर्थात १.७३ प्रतिशत खर्च भएको छ।
सुनुवाइमा सहभागी स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विपद् व्यवस्थापन लगायतका विषयमा प्रश्न उठाएका थिए । नागरिकको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा नगरपालिकाले पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। ती प्रतिबद्धतामा—
• सबै कार्यालय तथा वडा कार्यालयमा कर्मचारीहरु पोशाक सहित कार्यालय समयमा नियमित उपस्थित भएर सेवा प्रवाह गर्ने,
• राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गर्दै खेलकुद शिक्षक अभाव नभएसम्म सबै माविका खेलकुद शिक्षकलाई तालिम प्रदान गरी प्रशिक्षक उपलब्ध गराउने,
• बाँदर आतंक नियन्त्रणका उपाय खोजी गर्न आवश्यक पहल गर्ने,
• सबै स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी निशुल्क औषधि वितरण सुनिश्चित गर्ने,
• स्वास्थ्य चौकी गोठगाउँको नयाँ भवन छिटो हातान्तरण गरी गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने—जस्ता प्रतिवद्धता समेटिएका छन्।
वडा नं. १ गोठगाउँमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वास्थ्य, कृषि, पशु सेवा, योजना तथा सम्झौतासम्बन्धी विविध सेवा प्रदान गरिएको थियो।
नागरिकका प्रश्नको जवाफ नगर प्रमुख लबश्री न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चापागाई, तथा सम्बन्धित वडा अध्यक्षहरूले दिनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की, पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे, रास्वपाका नेता दुर्गा बहादुर बस्नेत, माओवादी केन्द्रका नेता मोतिलाल तामाङ, नेकपा एमाले नगर सचिव माधव ढकाल र नेपाली कांग्रेस नगर सभापति कमल विक्रम कार्कीलगायतले पारदर्शिता, निष्पक्षता र प्रभावकारी सेवा प्रवाहबारे सुझाव राखेका थिए।
हजुरको रेडियोको सहजीकरणमा सम्पन्न सुनुवाइ कार्यक्रममा नगर प्रमुख न्यौपाने, उपप्रमुख बालकुमारी कार्की, नगर प्रवक्ता समिर कार्की, वडाध्यक्षहरू, नगर कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उपस्थिती रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?








