२०८२ मङ्सिर २५ गते
रामेछापको लिखु तामाकोशी गाउँपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ।

विभिन्न ६६ विधामा प्रतिस्पर्धा गर्दै झट्टेश्वर माविले २९ स्वर्ण, २० रजत र २० कास्य गरी जम्मा ६९ पदक जित्दै यस वर्षको रनिङ शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र र नगद ३० हजार पुरस्कार प्राप्त गर्न सफल भयो।
यस्तै, चण्डेश्वरी मावी सैपुले १५ स्वर्ण, १५ रजत र १४ कास्यसहित ४४ पदक बटुल्दै दोस्रो स्थान हासिल गर्यो। विद्यालयले प्रमाणपत्रसहित २० हजार नगद पुरस्कार पायो।
तेस्रो स्थान भने अरुणोदय मावी सैपुले ओगट्यो। विद्यालयले ११ स्वर्ण, १३ रजत र १३ कास्य गरी ३७ पदक जित्दै प्रमाणपत्रसहित १५ हजार नगद पुरस्कार हात पारेको छ।
सान्त्वना स्थान त्रिपुरेश्वर मावी दुर्गागाउँले ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक जित्दै १० हजार नगदसहित सम्मानित भयो।
अन्य विद्यालयहरूको पदक विवरण यसप्रकार छः
• तामाकोशी ज.ज. मावी खिम्ती: २ स्वर्ण, ४ रजत, १२ कास्य
• भृङ्गेश्वर मावी धारापानी: २ स्वर्ण, ४ रजत, ६ कास्य
• भृङ्गेश्वर मावी कोटगाउँ: २ स्वर्ण, १ कास्य
• नवदर्शन मावी तिलपुङ: १ स्वर्ण, ६ रजत, १३ कास्य
• बुद्ध जनप्रिय मावी नागदह: १ स्वर्ण, १ कास्य
• मावी ज्यामिरेखानी, खिम्ती: १ रजत, ४ कास्य
• भृक्षेश्वर मावी खोल्मागाउँ: कुनै पदक हासिल गर्न सकेन।
समापन समारोह झट्टेश्वर मावी धोबीको खेलमैदानमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की, गाउँपालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाख्रीन, गाउँ खेलकुद विकास समितिका अध्यक्ष सुनिल तामाङलगायतले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।
गाउँपालिकाका ११ विद्यालयका विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए। विद्यालय तहमै प्रतिभा पहिचान गरी सक्षम खेलाडी तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामसिंह डडालले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?








