२०८२ माघ ६
रामेछाप । रामेछाप नगरपालिका–३ मा अवस्थित साँघुटार युवा क्लबको आयोजनामा सम्पन्न खुला वडा–स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी गाउँपालिका–१ पलापु, ओखलढुंगा ले हात पारेको छ।

२०८२ माघ २ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको हो। प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पलापु टिमले उपाधिसहित रु ८१ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिताको उप–विजेता (द्वितीय) स्थानमा लिखु तामाकोशी गाउँपालिका–४ रातमाटा, रामेछाप रहँदै रु ४१ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो (तृतीय) स्थान मन्थली नगरपालिका–८ चिसापानी, रामेछाप ले हासिल गर्दै रु २१ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यसैगरी सान्त्वना पुरस्कार तिखु तामाकोशी गाउँपालिका–२ सैपु ले प्राप्त गरेको छ। सैपु टिमलाई रु ८ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

उत्कृष्ट खेलाडी तथा विधागत पुरस्कार
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विशेष सम्मान गरिएको छ।उत्कृष्ट खेलाडीलाई रु ५,००० नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। साथै उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर तथा उत्कृष्ट कोच लाई जनही रु २,००० नगदसहित सम्मान गरिएको थियो। जसमा उत्कृष्ट सर्भरको उपाधि लिखु तामाकोशी गाउँपालिका–४ रातमाटाका रोसन मगरले प्राप्त गरे भने उत्कृष्ट लिब्रोचम्पादेवी गाउँपालिकाका अनमोल मगर घोषित भए।
त्यसैगरी उत्कृष्ट सेटरको उपाधि चम्पादेवी गाउँपालिका–१ का रमेश श्रेष्ठले जित्दा उत्कृष्ट स्पाइकरमन्थली नगरपालिका–८ चिसापानीका कुमार भुसाल घोषित भए। उत्कृष्ट मिडल ब्लकरको सम्मान लिखु तामाकोशी गाउँपालिका–२ सैपुका बाबुराम परियार (काले)**ले प्राप्त गरेका थिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि चम्पादेवी गाउँपालिका–१ का ससित मगरले हात पारे भने उत्कृष्ट (बेस्ट) कोचको रूपमा चम्पादेवी गाउँपालिका–१ कै प्रतिक मगर सम्मानित भएका थिए।

अतिथि, अध्यक्षता र सहभागिता
कार्यक्रम साँघुटार युवा क्लबका अध्यक्ष श्री नरेश प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपाने रहनुभएको थियो। प्रमुख अतिथि न्यौपानेले खेलकुदले युवालाई अनुशासन, एकता र सकारात्मक सोचतर्फ प्रेरित गर्ने बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा उपस्थित विभिन्न अतिथि तथा स्पोन्सरहरूलाई मायाको चिनो समेत वितरण गरिएको थियो।
२६ टिमको सहभागिता
उक्त प्रतियोगितामा २६ वटा टिमले सहभागिता जनाएका थिए। जिल्लाभित्र तथा बाहिरका टिमहरूको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको आयोजकले जनाएको छ।
साँघुटार युवा क्लबले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताएको छ।


























यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?








