२०८२ भदौ ८
रामेछापको लिखु तामाकोशी गाउँपालिकाका सातै वडाको पहल र गाउँपालिका कार्यालयको सहजीकरणमा काठमाडौंमै १० दिनसम्म विशेष सेवा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै व्यक्तिगत घटना दर्ता, कर तिर्ने प्रक्रिया लगायत वडाबाट हुने विभिन्न प्रशासनिक कामहरू सम्पन्न गरिएका छन्।
८०० भन्दा बढी लाभग्राही
कार्यक्रमको क्रममा मात्रै ८०० भन्दा बढी लाभग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका छन्। त्यस्तै जन्म, विवाह, मृत्यु तथा बसोबाससम्बन्धी व्यक्तिगत घटना दर्ता पनि गरिएको छ भने कर तिर्ने तथा वडास्तरमा आवश्यक पर्ने कागजी प्रक्रिया समेत सहज रूपमा सम्पन्न भएको छ।

राष्ट्रिय परिचयपत्र वडामै
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि गाउँपालिकाले सबै वडामा पुगेर वडा–वडामै परिचयपत्र बनाउन सक्ने व्यवस्था मिलाएको थियो। यसले काठमाडौंमा आयोजित सेवा कार्यक्रममा लाभग्राहीलाई थप सहजता भएको जनाइएको छ।

पालिकाको भनाइ
सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख सिजन खड्काका अनुसार, सातै वडाको सक्रियता र पालिकाको सहजीकरणले मात्रै यस्तो कार्यक्रम सम्भव भएको हो।“यसले काठमाडौंमै बसोबास गर्ने वा गाउँ पुग्न नसक्ने सेवाग्राहीलाई ठूलो राहत पुगेको छ। वृद्धवृद्धा वा व्यस्त लाभग्राहीका लागि यो घरदैलोमै सेवा जस्तै सुविधा भएको छ,” खड्काले बताए।
निरन्तरताको माग
गाउँपालिकाले यसरी काठमाडौंमै सेवा विस्तार गर्नु सेवाग्राहीमैत्री कदम भएको भन्दै सहभागीहरूले प्रसन्नता व्यक्त गरेका छन्। लामो यात्रा गर्नुपर्ने बाध्यता कम भएको र स्वास्थ्य तथा अन्य कारणले गाउँसम्म पुग्न नसक्ने लाभग्राहीले सजिलै सेवा लिन पाएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने मागसमेत उठेको छ।
यसैबीच, गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै व्यक्तिगत घटना दर्ता र कर प्रणालीलाई अझ व्यवस्थित बनाउँदै लैजाने र आवश्यकता अनुसार राजधानीमै पनि समय–समयमा यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?