RBN Online खबर

रामेछापको मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा

रामेछाप, भदौ ११ ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषित भएको छ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले बुधबार एक विशेष समारोहका बीच मन्थली नगरपालिकालाई औपचारिक रूपमा बालमैत्री पालिका घोषणा गर्नुभएको हो।

बालबालिकाको समग्र विकास, संरक्षण र सहभागितालाई सुनिश्चित गर्न पछिल्ला दुई वर्षदेखि मन्थली नगरपालिकाले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। ती कार्यक्रमहरू अन्तर्गत नगरभित्रका सबै १४ वटा वडा गत जेठ २८ गते नै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेका थिए।

मन्थली नगरपालिकाले २०७९ साल पुस १० र ११ गते सम्पन्न १२औँ नगरसभा मार्फत पालिकालाई बालमैत्री बनाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार २०८१ साल जेठ मसान्तभित्रै घोषणा गर्ने लक्ष्य राखिएको भए पनि कार्यान्वयन जेठमा मात्र पूरा भएको हो।

घोषणासँगै नगरपालिकाले बालबालिकाको अधिकार, संरक्षण, शिक्षा, स्वास्थ्य र सहभागितामा आधारित कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

नगर प्रमुख लब श्रेष्ठले भने, “यो घोषणा मन्थलीका सबै बालबालिकाको उज्ज्वल भविष्यका लागि एक महत्त्वपूर्ण कदम हो। अब नगरपालिका स्तरमै थप बालमैत्री पूर्वाधार र कार्यक्रमहरू सञ्चालन गरिनेछ, जसले बालबालिकाको सुरक्षित, समावेशी र सशक्त वातावरण निर्माणमा सहयोग पुर्‍याउनेछ।”
घोषणासँगै मन्थलीले जिल्लाका अन्य पालिकाहरूलाई पनि प्रेरणा दिएको छ। यसै सन्दर्भमा रामेछाप नगरपालिका पनि यही भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको तयारीमा जुटिरहेको छ।

यस उपलब्धिले रामेछाप जिल्लालाई बालमैत्री शासनप्रणालीको उदाहरणीय मोडेलका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top