भक्तपुर, कार्तिक २९
“समृद्धिको मार्ग” नामक पुस्तकको विमोचन तथा समृद्धिको मुलबाटो विषयक अभिव्यक्ति कार्यक्रम शनिबार भक्तपुरको गठ्ठाघरस्थित जर्मन होममा सम्पन्न भएको छ।

प्रा. डा. युवराज संग्रौलाको पहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक, साहित्यकार तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा आएका वक्ताहरूले देशको समृद्धि, सुशासन, राजनीतिक स्थिरता र विकासको मार्गचित्रबारे आफ्ना-आफ्ना अभिव्यक्तिहरू प्रस्तुत गरे। उनीहरूले राष्ट्र निर्माणमा बौद्धिक वर्गको सक्रिय सहभागिता आवश्यक भएको बताउँदै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सोच र परिवर्तनका लागि बलियो वातावरण तयार गर्ने विश्वास व्यक्त गरे।
पुस्तकका लेखक तथा आयोजक प्रा. डा. संग्रौलाले राष्ट्रका लागि विवेकशील तथा जागरूक नागरिकहरूको आवाज उठ्नुपर्ने आवश्यकता औंल्याउँदै, “देशलाई बस्नलायक बनाउन बौद्धिकहरूको हस्तक्षेप अपरिहार्य छ,” भन्दै उपस्थित सबैलाई साझा जिम्मेवारीका साथ आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गरे।
झण्डै ११:३० बजे सुरु भएको कार्यक्रम विविध विषयमा प्रस्तुत अभिव्यक्तिहरूका कारण अर्थपूर्ण र विचारप्रवर्तक बनेको सहभागीहरूले बताए। उपस्थितहरूले कार्यक्रमलाई समयानुकूल, प्रेरणादायी र मार्गदर्शक पहलका रूपमा मूल्यांकन गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












