२०८२ माघ १८
रामेछाप – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली काँग्रेस रामेछापले ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान औपचारिक रूपमा सुरु गरेको छ। पार्टीले वडादेखि जिल्लासम्म संगठन पूर्ण रूपमा परिचालन गर्दै निर्णायक ढंगले चुनावी मैदानमा उत्रिने संकेत दिएको छ।
शनिबार मन्थलीस्थित बिपी स्मृति भवनमा वडास्तरदेखि महाधिवेशन प्रतिनिधिसम्मको उपस्थितिमा सम्पन्न विस्तारित बैठकले काँग्रेसको चुनावी रणनीति सार्वजनिक गरेको हो। कार्यवाहक सभापति नवराज थोकरको अध्यक्षता तथा निवर्तमान सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संगठन परिचालनलाई तीव्र बनाउने स्पष्ट कार्ययोजना पारित गरेको छ।
बैठकमा पार्टी सचिव दीपक खड्काले ६४ वटै वडाका कार्यकर्तालाई एकढिक्का भएर उम्मेद्वार रामचन्द्र खड्काको पक्षमा लाग्न निर्देशन दिए। “रुख चिन्हका उम्मेद्वारलाई जिताउनुको कुनै विकल्प छैन,” उनले भने, “जनताका समस्या सुन्ने, गुनासा संकलन गर्ने र मतदातालाई मतदानका लागि तयार पार्ने जिम्मेवारी अब कार्यकर्ताको हो।”
महाधिवेशन प्रतिनिधि तथा अग्रज नेता धुव्रहरी ढुङ्गेलले अन्य दलका उम्मेद्वारहरू गाउँ–गाउँमा देखिए पनि काँग्रेस योजनाबद्ध र धैर्यताका साथ अघि बढिरहेको दाबी गरे। उनले उखान उदृत गर्दै भने, “घोडा दौडिएको र हात्ती लम्किएको मेल खाँदैन, अन्ततः हात्ती नै जित्छ।” लोकतन्त्र, संविधानको रक्षा र युवा पुस्ताको अपेक्षा सम्बोधन गर्न सक्ने सक्षम उम्मेद्वारका रूपमा खड्कालाई मतदातामाझ स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
पार्टीका प्रमुख राजनीतिक सल्लाहकार कृष्णबहादुर महतले काँग्रेस अहिले पूर्ण रूपमा एकढिक्का भएको उल्लेख गर्दै आन्तरिक असन्तुष्टि समाधान गर्दै उम्मेद्वारलाई जिताउने सेतुको भूमिका खेल्न आफूहरू तयार रहेको बताए। यस्तै, कांग्रेस क्षेत्र नं १ (क) का सभापति निरोज खड्काले उम्मेद्वारको पक्षमा जुनसुकै जिम्मेवारी लिन पनि तयार रहेको प्रतिबद्धता जनाए।
विस्तारित छलफलमा सहभागी नेताहरूले काँग्रेस ढिलो देखिए पनि निर्णायक र व्यवस्थित ढंगले अघि बढिरहेको बताउँदै अब तल्लो तहका संगठन पूर्ण रूपमा चलायमान बनाउने समय आएको धारणा राखे।
पार्टी सचिव विनोद कार्कीका अनुसार वडादेखि जिल्लासम्म संगठन परिचालन, घरदैलो, मतदाता भेटघाट तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउने स्पष्ट योजना तयार भइसकेको छ।
बैठकले १७ वर्षदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका अनुभवी नेता रामचन्द्र खड्कालाई उम्मेद्वार बनाउनु काँग्रेसका लागि गौरवको विषय भएको निष्कर्ष पनि निकालेको छ। स्वच्छ छवि, संगठनमाथिको बलियो पकड र जनतासँगको निरन्तर सम्पर्क नै जितको मुख्य आधार हुने नेताहरूको दाबी छ।
काँग्रेस रामेछापले अब गाउँ–गाउँमा चुनावी गतिविधि तीव्र बनाउने जनाएको छ। आइतबार उम्मेद्वार खड्काले रामेछाप नगरपालिकाबाट विशेष पूजा सहित घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गर्ने तयारी गरिएको उनको निजी सचिवालयले जनाएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा फराकिलो मतान्तरसहित जित हासिल गरेको काँग्रेसले यसपटक पनि रामेछापमा आफ्नो विजय यात्रा निरन्तर रहने विश्वास व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?







