
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको केही महिना अघि पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल विभिन्न दललाई सामेल गराएर नेपाली कम्युनिस्ट पार्टी नामक दल गठन गरी त्यसको आकार निरन्तर बढाउन प्रयासरत थिए ।
त्यही समयमा धरान उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख हर्क साम्पाङ भने आफ्नै नेतृत्वमा नयाँ दल गठनका लागि प्रयासरत थिए । उनी शून्यबाट दल गठन प्रक्रियामा जुटेका थिए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत विभिन्न दललाई समेटेर बनाइएको नेपाली कम्युनिस्ट पार्टीलाई अन्ततः हर्क साम्पाङको नयाँ दल श्रम संस्कृति पार्टीले आफ्नो आधार थलो कोशी प्रदेशमा पछि पारिदिएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा हेर्ने हो भने कोशी प्रदेश अन्तर्गतका निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीभन्दा श्रम संस्कृति पार्टी सफल देखिएको छ ।

श्रम संस्कृति पार्टीले कोशी प्रदेश अन्तर्गतका प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ तीन सिटमा जित हासिल गर्दा नेपाली कम्युनिस्ट पार्टीले एउटा पनि सिट जित्न सकेन । श्रम संस्कृति पार्टीले सुनसरी–१, भोजपुर र खोटाङ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको हो ।

यस्तै, समानुपातिकतर्फ पनि नेपाली कम्युनिस्ट पार्टीलाई श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा उछिनेको छ । कोशी प्रदेश अन्तर्गतका सबै निर्वाचन क्षेत्रमा गरी श्रम संस्कृति पार्टी २ लाख ७९ हजार ६९९ मतसहित समानुपातिकतर्फ चौथो दल बनेको छ । जबकि, श्रम संस्कृति पार्टीकोभन्दा झन्डै एक तिहाइ मत पाएर नेपाली कम्युनिस्ट पार्टी पाँचौँ नम्बरमा सीमित भएको छ । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशबाट समानुपातिकमा जम्मा ९४ हजार ३२० मत पाएको छ ।

श्रम संस्कृति पार्टी पाँचथर, इलाम, भोजपुर र खोटाङमा समानुपातिक मतका आधारमा पहिलो दल बनेको छ । नेपाली कम्युनिस्ट पार्टी भने कोशीका कुनै पनि जिल्लामा पहिलो, दोस्रो वा तेस्रो स्थानमा समेत पर्न असफल भएको छ ।
समग्रमा कोशी प्रदेशबाट समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ८ लाख ४० हजार ६१३ मतसहित पहिलो पार्टी बन्दा २ लाख ८१ हजार ७५७ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । यस्तै, नेकपा एमाले २ लाख ८० हजार ८३७ मतसहित तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












