२०८३ असोज ११

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा रामेछाप जिल्लामा चुनावी माहौल तातेको छ। यसै क्रममा बागमती प्रदेश, रामेछाप जिल्ला प्रदेश सभा क्षेत्र नम्बर ‘क’ बाट प्रदेश महाधिवेशन प्रतिनिधि (खुला तर्फ) पदमा लिखु तामाकोशी गाउँपालिका–४ निवासी युवा नेता सुबास दाहालले आफ्नो सशक्त उम्मेदवारी घोषणा गर्नुभएको छ।
“समृद्ध र समावेशी बागमती प्रदेशका लागि सक्रिय प्रतिबद्धता” भन्ने मुख्य सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिनुभएका दाहाल लामो समयदेखि नेपाली कांग्रेसको सङ्गठन निर्माण र सामाजिक रूपान्तरणमा निरन्तर क्रियाशील रहँदै आउनुभएको छ।
नेविसङ्घदेखि सम्पर्क मञ्च सभापतिसम्मको राजनीतिक यात्रा
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका दाहालले विद्यार्थी राजनीतिमा सङ्गठन विस्तार र शैक्षिक मुद्दाहरूमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो। त्यसपछि नेपाल तरुण दलमा आबद्ध भई युवाहरूलाई सङ्गठित गर्दै राजनीतिक तथा सामाजिक अभियानको नेतृत्व सम्हाल्नुभयो।
सङ्गठनात्मक दक्षता र निरन्तरको क्रियाशीलताकै कारण उहाँ लिखु तामाकोशी–काठमाडौँ सम्पर्क मञ्चको सभापतिको जिम्मेवारीमा चयन हुनुभएको थियो। काठमाडौँमा रहेर गृहजिल्ला रामेछाप तथा लिखु तामाकोशीका नागरिकहरूलाई आइपर्ने दुःख-सुखमा निरन्तर साथ दिँदै उहाँले सामाजिक र राजनीतिक दुवै क्षेत्रमा आफ्नो बलियो पहिचान बनाउनुभएको छ।
निर्वाचनमा महत्त्वपूर्ण भूमिका र सङ्गठन समर्पण
नेता दाहाल सङ्गठनका हरेक मोर्चामा खटिने निष्ठावान् नेताका रूपमा परिचित हुनुहुन्छ। विगतका स्थानीय, प्रादेशिक तथा प्रतिनिधि सभाका निर्वाचनहरूमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन उहाँले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै अहोरात्र खटिएर उदाहरणीय भूमिका निर्वाह गर्नुभएको थियो। निर्वाचनका क्रममा मैदानमै खटिएर जनता र कार्यकर्तामाझ देखाउनुभएको समर्पणले पार्टी सङ्गठनलाई मजबुत बनाउन ठूलो योगदान पुर्याएको छ।
पार्टी सुदृढीकरण र प्रादेशिक विकासको सङ्कल्प
आफ्नो उम्मेदवारीबारे बोल्दै नेता दाहालले “जनताको आवाज, म मेरो प्रतिबद्धता” भन्ने भावनालाई आत्मसात् गर्दै पार्टीलाई थप सुदृढ, गतिशील र पारदर्शी बनाउन आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभएको छ।
विशेष गरी प्रदेश स्तरमा रामेछापका विकास निर्माणका मुद्दाहरूलाई सशक्तरूपमा उठाउने, युवाहरूलाई स्वदेशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न नीतिगत पहल गर्ने तथा सुशासनयुक्त र समतामूलक समाज निर्माणमा समर्पित रहने उहाँको प्रतिबद्धता छ।
विद्यार्थी राजनीति, तरुण दल र सम्पर्क मञ्चको सफल नेतृत्व सम्हालिसक्नुभएका परिपक्व एवं ऊर्जावान् युवा नेता सुबास दाहालको उम्मेदवारीले रामेछाप क्षेत्र नम्बर ‘क’ का कांग्रेस नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू माझ नयाँ उत्साह र तरङ्ग पैदा गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












