२०८३ असोज २१

रामेछाप ।रामेछाप नगरपालिका वडा नं. १ (गोठगाउँ) का वडा अध्यक्ष रेखबहादुर खत्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८३ साल असार २१ गते रामेछाप नगरपालिकाका नगर प्रमुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा खत्रीले नगरपालिकाको कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नं. १ प्रति देखाइएको व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिका रूपमा प्रभावकारी ढङ्गले काम गर्ने वातावरण असहज बन्दै गएको उल्लेख गरेका छन्। वडाको आवश्यकता र स्थानीय समस्यालाई प्राथमिकतामा राख्नुको साटो बहुमत र अल्पमतको आधारमा व्यवहार हुने गरेको तथा विकास निर्माणका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको उनको गुनासो छ।
त्यस्तै, व्यक्तिगत असहमति, पूर्वाग्रह वा आन्तरिक मतभेदका कारण वडावासीका अपेक्षा र प्रतिबद्धताअनुसार काम गर्न कठिन भएको भन्दै उनले पदमा निरन्तर रहिरहनु वडावासीप्रतिको जिम्मेवारीसँग न्याय नहुने निष्कर्षमा पुगेर राजीनामा दिएको जनाएका छन्।
पदबाट अलग भए पनि वडा नं. १ तथा समग्र रामेछापको विकास, सुशासन र सामाजिक न्यायका पक्षमा निरन्तर योगदान गरिरहने प्रतिबद्धता खत्रीले व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने नगर प्रमुख, उप-प्रमुख, कार्यपालिका सदस्य, कर्मचारी, राजनीतिक दल तथा सम्पूर्ण वडावासीलाई धन्यवाद ज्ञापन गर्दै राजीनामा स्वीकृतिका लागि कानुनी प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












