RBN Online खबर

विशेष महाधिवेशन गर्न गगन थापाले हस्ताक्षर अभियान चलाएको भन्दै एकजुट भए देउवानिकट पूर्वपदाधिकारी

नेपाली कांग्रेसका ५ जना पूर्वपदाधिकारीहरूले आज चाक्सीबारीमा छलफल गरेका छन्।

महामन्त्री गगन थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतको साथ लिएर विशेष महाधिवेशन प्रस्ताव अघि सारेको भन्दै सभापति शेरबहादुर देउवानिकट ५ पूर्वपदाधिकारी एकजुट भई छलफल गरेका छन्।

पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र प्रवक्ता प्रकाशशरण महतले आइतबार सिंहनिवास चाक्सीबारीमा छलफल गरेका हुन्।

छलफलको एजेन्डा वर्तमान राजनीतिक परिस्थिति, आगामी केन्द्रीय समिति बैठक, सभापति शेरबहादुर देउवाको स्वास्थ्यलाभ लगायत थियो।

तर नेताहरूले कुराकानीका क्रममा महामन्त्री गगन थापाले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान चलाएको दाबी समेत गरेको एक नेताले जानकारी दिए। महामन्त्री थापाले कहाँ, कसरी सदस्यहरूको हस्ताक्षर लिइरहेका छन् भन्ने विस्तृत उनले जानकारी दिएनन्।

जेनजी पुस्ताको भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीले घरभित्रै छिरे सभापति देउवा दम्पतीमाथि आक्रमण गरेका थिए। सैनिक अस्पतालमा देउवा दम्पतीको उपचार भइरहेको छ।

सभापतिज्यूको स्वास्थ्यलाभ हुँदैछ, उहाँलाई निको भएपछि छिट्टै उहाँकै सभापतित्वमा केन्द्रीय समिति बैठक बस्छ, त्यसमा भदौ २३ गते जेनजी पुस्ताले गरेको प्रदर्शनदेखि अहिलेसम्मका सबै घटनाक्रमबारे समीक्षा गरेर भावी रणनीतिसमेत तय हुन्छ,’ छलफलमा पूर्वउपसभापति निधिले भनेका थिए।

उनले पार्टीमा बृहत्तर एकता चाहिएको बताए।

‘पार्टीमा अहिले हिजोभन्दा धेरै आन्तरिक एकता चाहिएको छ। देशभरका साथीहरू अब के हुन्छ भन्दै हुनुहुन्छ, हिजोका दिनभन्दा आज चुनौती छन् त्यो सम्बोधन गर्नुपर्ने हुन्छ, पार्टी कार्यकर्ताहरूलाई पनि बिचलित हुन दिनु हुँदैन,’ निधिको भनाइ थियो।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि पार्टीभित्र आन्तरिक एकता जरूरी रहेको बताए।

‘राष्ट्र संकटमा छ, समाधान नेपाली कांग्रेसले नै दिनुपर्छ, त्यसका लागि आन्तरिक एकता आवश्यक छ,’ उनले छलफलका क्रममा भनेका थिए, ‘कांग्रेसले लोकतन्त्रका लागि बलियो र एकीकृत भई गतिविधि गर्नुपर्छ।’

उनीहरूले पार्टीलाई कमजोर पार्ने काम कोही कसैबाट हुनु नहुने पनि बताएका थिए। पार्टीभित्र नेतापिच्छे फरक फरक अभिव्यक्ति आइरहेको सन्दर्भ उल्लेख गर्दै उनीहरूले केन्द्रीय समितिले एकै धारणा बनाएर जाने विश्वस व्यक्त गरेका थिए।

यो छलफलमा आउनुअघि प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरूलाई बोलाएर कुराकानी गरेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top