२०८२ मङ्सिर २९
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ ले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस सूचीमा राखेको हो ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जनसहित रस्मिला मल्ल, धर्मराज गौतम, नानु बास्तोला, श्यामकृष्ण खड्का र राजन खत्रीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
त्यसैगरी, समानुपातिक निर्वाचनतर्फ किरण गिरी, गौरीप्रसाद दवाडी, डा. अमिता प्रधान, अधिवक्ता सुधा रिजाल, दिलमाया अधिकारी, गोमा गुरुङ र कल्याणी खड्काको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
यस्तै, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पूर्वसांसद ध्यानगोविन्द रन्जित तथा दामोदर गौतमलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । कांग्रेस क्षेत्र नं. ९ का सभापति जयकृष्ण महर्जनले प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभाका लागि उम्मेदवारहरूको नाम सिफारिस गरिएको जानकारी दिए ।
प्रत्यक्षतर्फ सिफारिस भएका धर्मराज गौतम, नानु बास्तोला र श्यामकृष्ण खड्का यसअघिको निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका उम्मेदवार भए पनि पराजित भएका थिए । रस्मिला मल्ल कांग्रेस महासमिति सदस्य हुन् भने राजन खत्री क्षेत्रीय प्रतिनिधि हुन् ।
कांग्रेस काठमाडौं क्षेत्र नं. ९ का सभापति महर्जन हाल दोस्रो कार्यकालमा रहेका छन् । उनी २०६२ सालमा शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसमेत रहेका थिए । उनको कार्यकालमा क्याम्पसमा महत्वपूर्ण कामहरू भएको भन्दै क्याम्पस प्रशासनबाट अहिले पनि चर्चा हुने गरेको बताइन्छ ।
२०६२/०६३ को जनआन्दोलनको नेतृत्व गरेका महर्जनले आन्दोलनका क्रममा पटक–पटक जेल जीवनसमेत बिताएका थिए । शान्त र सालिन स्वभावका महर्जनको नाम यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारका रूपमा सिफारिस भएको थियो । तर, गठबन्धनका कारण उनी उम्मेदवारी दिनबाट वञ्चित भएका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


