२०८२ पौष १४ गते
काठमाडौँ — बानेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आयोजनामा नव आगन्तुक विद्यार्थी स्वागत, पूर्व स्ववियु सभापतिहरू, विभिन्न विद्यार्थी संगठनका पूर्व तथा निवर्तमान नेतृत्व र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रममा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले विद्यार्थी राजनीतिले मुलुकको समग्र दिशा निर्धारण गर्ने उल्लेख गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि, अनुशासन र सिर्जनशील सोच विकासमा विद्यार्थीहरूको अग्रणी भूमिका आवश्यक रहेको बताए। दाहालले क्याम्पसलाई ज्ञान, अनुसन्धान र सामाजिक रूपान्तरणको केन्द्रका रूपमा विकास गर्न विद्यार्थी नेतृत्व जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।

स्ववियु अध्यक्ष भूमिराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिबोल भट्टराई र क्याम्पस प्रमुख डा. घमाननसिंह खड्का विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए।

कार्यक्रमको क्रममा क्याम्पस र विद्यार्थी आन्दोलनमा योगदान दिएका पूर्व स्ववियु सभापतिहरू तथा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडीहरूलाई सम्मान गरिएको थियो। साथै, नव आगन्तुक विद्यार्थीहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले कार्यक्रममा थप ऊर्जा र आकर्षण थपेको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई क्याम्पस संस्कृतिसँग नजिक बनाउनुका साथै अध्ययन, खेलकुद र सिर्जनशील गतिविधिमा सक्रिय सहभागिताका लागि प्रेरणा दिने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न केन्द्रीय विद्यार्थी संगठनका प्रतिनिधि, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


