२०८२ पुस २४
काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा पुस १६ गतेदेखि सञ्चालन गरिएको साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रम आज पुरस्कार वितरणसहित सम्पन्न भएको छ।
विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रम विभिन्न खेलकुद र सिर्जनात्मक गतिविधिमार्फत सम्पन्न गरिएको हो।
अतिरिक्त क्रियाकलाप प्रमुख डा. कृष्णदेव यादवको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, संस्थापक पूर्व क्याम्पस प्रमुख डा. केदार न्यौपाने, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष भुमिराज अधिकारी, प्राध्यापक संघका अध्यक्ष सुधिर रिमाललगायतको उपस्थिति रहेको थियो।
साप्ताहिक कार्यक्रमअन्तर्गत फुटसल, भलिबल, कबड्डी, टग अफ वारजस्ता खेलकुद प्रतियोगिताका साथै कविता, साहित्यिक प्रस्तुति र मनोरञ्जनात्मक नृत्यजस्ता विधामा प्रतियोगिताहरू आयोजना गरिएको थियो। ती प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि हरिबोल भट्टराई, क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, स्ववियु अध्यक्ष भुमिराज अधिकारी र प्राध्यापक संघ अध्यक्ष सुधिर रिमालले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्नुका साथै अनुशासन, नेतृत्व र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। वक्ताहरूले विजयी तथा सहभागी सबै विद्यार्थीहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा क्याम्पसका प्राध्यापकहरू, स्ववियु पदाधिकारी तथा सदस्यहरू, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू र ठूलो संख्यामा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


