२०८२ फागुन ९ गते
रामेछाप नगरपालिका–६ च्यास्कु बजारमा भएको सवारी दुर्घटनामा एक बालिकाको दुःखद् मृत्यु भएको छ। आज दिउँसो करिब २ बजेतिर बाग्मती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा सोही वडाकी कोपिला तामाङ श्रेष्ठकी ४ वर्षीया छोरीको घटनास्थलमै ज्यान गएको वडा सदस्य खड्गबहादुर मगरले जानकारी दिनुभयो।
प्राप्त विवरणअनुसार बालिका पसलमा सामान किनिरहेका बेला बोलेरो गाडी सटरभित्रै पसेको थियो। गाडीका चालक नभएको अवस्थाको फाइदा उठाउँदै अटो चालक तिर्थबहादुर तामाङले गाडी चलाउँदा दुर्घटना भएको वडा सदस्य मगरको भनाइ छ।
घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, आफन्तको अनुमति बिना नै बालिकाको शव एम्बुलेन्समा राखिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। सो क्रममा प्रहरी चौकी रामेछाप डाँडाका असईमाथि हातपात गर्ने प्रयाससमेत भएको बताइएको छ। हाल घटनास्थलको अवस्था तनावपूर्ण रहेको जनाइएको छ।
दुर्घटनामा केही स्थानीयसमेत घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि रामेछाप अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












