१९ फागुन २०८२
रामेछाप नगरपालिका–२ सिरुवारीस्थित भित्री सडकखण्डमा मतदान सामग्री बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका प्रहरी सहायक निरीक्षक (असई) परशु राम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, मन्थलीबाट रामेछाप नगरपालिका–२ स्थित सितलदेवी माध्यमिक विद्यालय र वडा नं. ३ को वडा कार्यालय भवन साँघुटारस्थित मतदान केन्द्रका लागि मतपत्र तथा अन्य निर्वाचन सामग्री लिएर खटिएको ना.७ ख ६७६८ नम्बरको निशान गाडी सोमबार अपराह्न करिब ४ः१५ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी मोड नपुगी ब्याक गर्ने क्रममा अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा परेर सप्तरीको रुपनी गाउँपालिका–१ घर भई जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत असई परशु राम यादवको घटनास्थलमै ज्यान गएको हो।
यसैगरी, मन्थली नगरपालिका–१ भैंसेश्वर निवासी ५७ वर्षीय डोरप्रसाद घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ। वडा कार्यालय भवन साँघुटार (ख) केन्द्रका मतदान अधिकृत रहेका घिमिरेलाई मन्थली अस्पताल पुर्याइएपछि साँझ ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा गम्भीर घाइते सात जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। गम्भीर घाइतेमध्ये सितलदेवी मावि सिरुवारी (क) केन्द्रका मतदान अधिकृत कृष्णप्रसाद घिमिरे, सहायक मतदान अधिकृत पुजादेवी सुनुवार, चालक सम्भरबहादुर मानन्धर, दुर्गा कार्की, भिमबहादुर मानन्धर, केदारकुमार रोक्का र सबिना खड्का रहेका छन्।
कमला ढुङ्गेल खत्री भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीको टोलीले उद्धार गरी घाइतेलाई मन्थली अस्पताल पुर्याएको थियो। अवस्था गम्भीर देखिएपछि हेलिकोप्टरमार्फत काठमाडौं रेफर गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सामग्री सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निर्वाचन सामग्रीसहित खटिएको टोली दुर्घटनामा परेपछि जिल्लामा शोकको वातावरण बनेको छ। स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, आगामी मतदान कार्यक्रम प्रभावित नहुने गरी आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












