२०८३ भदौ १४
बाढी प्रभावितको राहतका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नक्कली स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमार्फत ठगी धन्दा चलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे घर भई हाल मन्थली बस्दै आएका ३२ वर्षका भगवान कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनलाई भदौ १४ गते नियन्त्रणमा लिइएको हो।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूको उद्धार तथा राहत संकलनका लागि नेपाल सरकारद्वारा जारी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा आफूले रु. १,२०,०००/- (एक लाख बीस हजार रुपैयाँ) सहयोग गरेको दाबी गर्दै कार्कीले सामाजिक सञ्जालमा भ्रम फैलाएका थिए।
अनुसन्धानका क्रममा उनले प्रविधि (ChatGPT) को दुरुपयोग गरी रु. १,२०,०००/- सहयोग गरेको नक्कली डिजिटल स्टेटमेन्ट तयार पारेका थिए। उक्त नक्कली स्टेटमेन्टसँगै राहत संकलन गर्ने बहानामा आफ्नै व्यक्तिगत QR Code राखी उनले सामाजिक सञ्जालहरूमा पोस्ट गरेर मानिसहरूबाट रकम संकलन (ठगी) गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल राउतका अनुसार नक्कली कागजात खडा गरी ठगी धन्दा चलाएको सूचनाका आधारमा कार्कीलाई नियन्त्रणमा लिइएको हो। निजमाथि थप अनुसन्धान कार्य भइरहेको र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा आउने यस्ता शंकास्पद खाता र QR Code हरूमा रकम जम्मा गर्नुअघि आधिकारिकता बुझ्न र यस्ता भ्रममा नपर्न सर्वसाधारणलाई अपिलसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?










