
मन्थली, रामेछाप (२० भदौ २०८३)
नेपाल प्रेस युनियन रामेछापको ५ औँ जिल्ला अधिवेशन तथा १० औँ साधारणसभाबाट कुमार श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सिङ्गो पदाधिकारी तथा सदस्य टोलीलाई निर्विरोध निर्वाचित गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सागर बोहरा, महिला उपाध्यक्षमा सम्झना खड्गी, सचिवमा मिलन विक (घिमिरे), सहसचिवमा टंकनाथ गौतम र कोषाध्यक्षमा राजन महतारा चयन हुनुभएको छ। यसैगरी कार्यसमिति सदस्यहरूमा श्रीराजचन्द्र महत, इश्वर विक, अनिता रसाइली, कर्ण श्रेष्ठ र सुशिला बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ।
जिल्लाका सञ्चारकर्मी तथा युनियनकर्मीहरूको बाक्लो उपस्थितिमा सम्पन्न उक्त अधिवेशनले नयाँ नेतृत्व चयनसँगै सांगठनिक सुदृढीकरण, व्यावसायिक पत्रकारिताको प्रवर्द्धन र श्रमजीवी सञ्चारकर्मीहरूको हकहित संरक्षणलाई मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
नवनिर्वाचित कार्यसमितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै जिल्लाको समग्र सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि, मर्यादित पत्रकारिता र स्थानीय मुद्दाहरूको तथ्यपरक उठानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?










