२०८३ असोज १५

मन्थली — रामेछापको सुनापति गाउँपालिकामा आफ्नै १३ वर्षीया छात्रामाथि बालयौन दुरुपयोग गरेको गम्भीर आरोपमा एक शिक्षक पक्राउ परेका छन्। विद्यालयमा पढाउने क्रममा बालिकालाई यौनजन्य दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरीले झापाको गौरादह नगरपालिका–४ घर भई हाल सुनापति–५ बस्ने ४८ वर्षीय नवराज भण्डारी (नवीन) लाई नियन्त्रणमा लिएको हो।
परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण गराइदिने आश देखाउँदै भण्डारीले छात्रामाथि अनुचित फाइदा उठाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले बालिकालाई ललाइफलाइ गर्ने, संवेदनशील अङ्गहरूमा छुने तथा चिमोट्ने जस्ता हर्कत गर्दै आएका थिए। त्यसका साथै सामाजिक सञ्जाल ‘फेसबुक मेसेन्जर’ मार्फत अश्लील तस्बिर, भिडियो र सन्देशहरू पठाएर निरन्तर मानसिक एवं यौनजन्य उत्पीडन दिने गरेको उजुरीमा उल्लेख छ।
पीडितमाथि पटक-पटक दुर्व्यवहार भएको घटना बाहिरिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले असोज १४ गते अभियुक्त भण्डारीलाई पक्राउ गरेको हो।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल राउतले अपराध अनुसन्धानलाई गम्भीरताका साथ अगाडि बढाइएको बताए। “छात्रामाथि भएको गैरकानुनी यौनजन्य क्रियाकलापको उजुरी आएलगत्तै अभियुक्तलाई नियन्त्रणमा लिएका हौँ,” प्रहरी निरीक्षक राउतले भने, “जिल्ला अदालत रामेछापबाट आठ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ।”
बालिकाको सुरक्षा, गोपनीयता र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै प्रहरीले उनको वास्तविक नाम-थर गुप्त राखेको छ। कानुनी प्रक्रियाका लागि पीडितलाई ‘जिल्ला १८ (सुनापति ११)’ साङ्केतिक नामकरण गरिएको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित डिजिटल फोरेंसिक परीक्षण, आवश्यक प्रमाण सङ्कलनका साथै प्रत्यक्षदर्शीहरूसँग सोधपुछको काम तीव्र पारिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












