RBN Online खबर

नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की महाधिवेशन प्रतिनिधिमा विजयी

२०८३ असोज १७

मन्थली, रामेछाप । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका उपसभापति तथा निवर्तमान कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएका प्रभावशाली एवम् बौद्धिक नेता लेखबहादुर कार्की १५औँ महाधिवेशन अन्तर्गत खुला १० तर्फबाट अत्यधिक ६८४ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा सानदार विजयी हुनुभएको छ।

रामेछाप नगरपालिका वडा नं. १, गोठगाउँका स्थायी बासिन्दा कार्की रामेछापको लोकतान्त्रिक आन्दोलन र विकास निर्माणको राजनीतिमा साढे तीन दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय, निष्ठावान्, सादगीपूर्ण जीवनशैली भएका एवम् परिपक्व नेताका रूपमा स्थापित हुनुहुन्छ।

पार्टी संगठन सुदृढीकरण, निष्ठाको राजनीति र कार्यकर्ता संरक्षणमा सधैँ अग्रपङ्क्तिमा रहँदै आउनुभएका कार्कीको राजनीतिक यात्रा विक्रम संवत् २०४६ सालको ऐतिहासिक जनआन्दोलनसँगै हिमगंगा माध्यमिक विद्यालयको नेवि संघ इकाई अध्यक्षबाट सुरु भएको हो। त्यस समयको कठिन राजनीतिक परिस्थितिमा पनि निडरताका साथ विद्यार्थी हक-हित र लोकतन्त्रका पक्षमा उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय थियो। विद्यार्थी आन्दोलन र संगठन निर्माणमा देखाउनुभएको उच्च कार्यकुशलता, निष्ठा र अगाध लोकप्रियताका कारण उहाँ विक्रम संवत् २०५१ सालमा नेवि संघ रामेछापको जिल्ला अध्यक्ष बन्नुभयो। विद्यार्थी राजनीतिलाई रामेछाप जिल्लाभर सशक्त ढंगले स्थापित गराउन उहाँको योगदान अतुलनीय मानिन्छ।

नेवि संघको सफल नेतृत्वपछि युवाहरूलाई लोकतन्त्रको पहरेदार बनाउँदै संगठनमा गोलबन्द गर्ने उद्देश्यका साथ उहाँले विक्रम संवत् २०५७ सालमा नेपाल तरुण दल रामेछापको जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभयो। तरुण दलको जिल्ला अध्यक्ष हुँदा जिल्लाका दूरदराजका युवाहरूलाई लोकतान्त्रिक विचारमा आबद्ध गराउन र पार्टीको संगठनलाई टोल-टोलसम्म पुर्‍याउन उहाँले अहोरात्र खटेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो।

निष्ठा, त्याग र निरन्तरताको उच्च कदर गर्दै पार्टी संगठन निर्माणमा निरन्तर खटिनुभएका कार्कीलाई पार्टीको १२औँ महाधिवेशनले नेपाली कांग्रेस रामेछाप क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा निर्वाचित गर्यो। क्षेत्रीय सभापतिको रूपमा उहाँले क्षेत्रीय क्षेत्रभित्रका आम कार्यकर्ता र शुभेच्छुकहरूलाई समेटेर संगठनलाई थप चलायमान र सुदृढ बनाउनुभयो। त्यसपछिको १३औँ महाधिवेशनमा जिल्लाभरका कार्यकर्ताहरूको अगाध विश्वासका साथ उहाँ जिल्ला कार्यसमिति रामेछापको निर्वाचित पार्टी सचिव बन्नुभयो। सचिवको कार्यकालमा उहाँले पार्टीको प्रशासनिक एवम् सांगठनिक काम-कारबाहीलाई व्यवस्थित, चुस्त र प्रभावकारी बनाउँदै जिल्लामा पार्टीलाई नयाँ उचाइ प्रदान गर्नुभयो।

पार्टीप्रतिको समर्पण र निरन्तरको लोकप्रियताकै परिणाम स्वरूप १४औँ महाधिवेशनमा उहाँ भारी मतका साथ जिल्ला कार्यसमितिको उपसभापति निर्वाचित हुनुभएको थियो। उपसभापति भइसकेपछि र विशेष गरी निवर्तमान कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दा उहाँले जिल्लाको समग्र संगठनलाई अत्यन्तै कुशलता, सन्तुलन र सुझबुझका साथ हाँक्नुभएको छ। सबै पक्ष र विचारलाई मिलाएर लैजान सक्ने उहाँको समन्वयकारी क्षमता र नेतृत्व कौशलको पार्टीभित्र सधैँ उच्च प्रशंसा हुने गरेको छ।

यसैगरी नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने कार्यमा पनि कार्कीले अग्रपङ्क्तिमा रहेर सक्रियताका साथ समन्वय, सहभागिता र महत्त्वपूर्ण सहयोग पुर्‍याउनुभएको थियो। धेरैजसो नेताहरू राजधानी वा केन्द्रमुखी हुने प्रवृत्ति बढिरहेको वर्तमान समयमा कार्की भने काठमाडौँ केन्द्रित राजनीतिभन्दा सधैँ टाढा रहनुभयो। उहाँले सधैँ जिल्लामै बसेर रामेछापका आम पार्टी कार्यकर्ता र स्थानीय जनताको हरेक सुख-दुःख, समस्या र विकास निर्माणका काममा अभिन्न साथी बनेर साथ दिँदै आउनुभएको छ।

प्रारम्भिक विद्यालय तहको विद्यार्थी राजनीति, तरुण दलको नेतृत्व हुँदै पार्टीका विभिन्न महत्त्वपूर्ण र जिम्मेवार पदहरू सफलतापूर्वक सम्हालिसक्नुभएका परिपक्व, अनुभवी, निष्ठावान् एवम् सर्वप्रिय नेता लेखबहादुर कार्की ३८४ मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भएसँगै सिङ्गो रामेछाप कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा नयाँ उत्साह, आशा र भरोसा थपिएको छ। उहाँको यो जितले रामेछापमा पार्टी संगठनलाई अझ सशक्त, सुदृढ र एकताबद्ध बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top