RBN Online खबर

गगन थापालाई लेख बहादुर कार्कीको खुला पत्र : ‘राजिनामा होइन, साहसिक सुधारको नेतृत्व गर्नुस्’

रामेछाप।
रामेछापबाट नेपाली कांग्रेस का जिल्ला उपसभापति लेख बहादुर कार्कीले पार्टीका सभापति गगनकुमार थापा लाई लक्षित गर्दै खुला पत्र सार्वजनिक गरेका छन्।

उनले पार्टीभित्र पछिल्लो समय देखिएको निराशा र आत्मसमीक्षाको अवस्थाबीच राजिनामाको चर्चा समाधान नभई संगठनात्मक सुधार र एकताको नेतृत्व आवश्यक रहेको बताएका छन्।

कार्कीले नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन, त्याग, बलिदान र जनविश्वासको गौरवपूर्ण इतिहास बोकेको संस्था भएको उल्लेख गर्दै उक्त विरासत जोगाउँदै पार्टीलाई समयअनुसार रूपान्तरण गर्नुपर्ने जिम्मेवारी अहिलेको नेतृत्वमा रहेको बताएका छन्।

हालै सम्पन्न निर्वाचनपछि पार्टीभित्र आलोचना, समीक्षा र निराशाका स्वर सुनिन थालेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा नेतृत्वबाट पछि हट्नु भन्दा पनि पार्टीलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ पद्धतिबाट अघि बढाउने साहसिक कदम आवश्यक भएको बताएका छन्।

खुला पत्रमार्फत कार्कीले पार्टीलाई पुनर्जीवित गर्न सात बुँदे सुझावसमेत दिएका छन्। उनले पार्टीभित्र देखिएका गुटगत प्रवृत्ति अन्त्य गर्दै वृहत् एकताको अभियान सुरु गर्नुपर्ने, भातृ तथा शुभेच्छुक संगठनहरूको पुनर्गठन गरी अधिवेशनमार्फत सक्रिय बनाउनुपर्ने र देशभरका क्रियाशील सदस्यताको निष्पक्ष छानबिन तथा नवीकरण गर्नुपर्ने बताएका छन्।
त्यसैगरी उनले हालै सम्पन्न निर्वाचनको वडा तहदेखि केन्द्रसम्म गहिरो समीक्षा गर्नुपर्ने, पार्टीलाई प्रविधिमैत्री बनाउँदै संगठनात्मक संरचना र सदस्यता प्रणालीलाई डिजिटलाइज गर्नुपर्ने सुझाव दिएका छन्।

सदस्यता शुद्धीकरणपछि मात्र महाधिवेशन गर्नुपर्ने र पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता तथा दण्डहीनताको अन्त्य गर्नुपर्ने विषय पनि पत्रमा उल्लेख गरिएको छ।

खुला पत्रमा कार्कीले वर्तमान अवस्था नेपाली कांग्रेसका लागि ऐतिहासिक मोड भएको उल्लेख गर्दै यस्तो अवस्थामा राजिनामा समाधान नभई संगठनात्मक पुनर्जागरण र वृहत् एकताको नेतृत्व आवश्यक रहेको बताएका छन्।
“यो समय राजिनामाको होइन, बरु अझ दृढतापूर्वक नेतृत्व गर्दै पार्टीलाई सुधार र पुनर्गठन गर्ने समय हो,” उनले पत्रमा उल्लेख गरेका छन्।

देशभरका लाखौं कांग्रेस कार्यकर्ताहरूको अपेक्षा नेतृत्वप्रति जोडिएको भन्दै उनले कठिन परिस्थितिमा पछि नहटी पार्टीलाई एकता, सुधार र नयाँ दिशातर्फ अघि बढाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top