RBN Online खबर

रामेछापबाट कांग्रेसको राजनीतिमा होमिए चर्चित गायक प्रकाश कटुवाल

२०८३ असोज ७

​रामेछाप । नेपाली लोक तथा दोहोरी सङ्गीतमा आफ्नै छुट्टै पहिचान बनाएका गायक प्रकाश कटुवाल अब साङ्गीतिक यात्रासँगै राजनीतिक यात्रामा पनि अगाडि बढेका छन्। मौलिक भाका र मिठासपूर्ण स्वरका धनी कटुवालले ‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्को’, ‘मोही खाउला बोट्कामा’, ‘फूल फूल्यो केशरी’ तथा ‘छेकन जामाले’ जस्ता सयौँ लोकप्रिय गीतमार्फत लामो समयदेखि नेपाली दर्शक तथा श्रोताको मन जित्दै आएका छन्।

​नेपाली लोक गायनमा आफ्ना चर्चित सिर्जनामार्फत योगदान पुर्‍याएका गायक कटुवाल नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।
​रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका उनी अब महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रने तयारीमा छन्। आगामी असोज १० गते रामेछापमा हुने जिल्ला अधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो पक्षमा माहोल बनाउन र कार्यकर्ता भेटघाटलाई तीव्रता दिन थालेका छन्।

​विशेष महाधिवेशनपछि गगन थापाको हातमा कांग्रेसको नेतृत्व पुगेसँगै आफू राजनीतिमा लाग्न प्रेरित भएको कटुवाल बताउँछन्। थापाको स्पष्ट वैचारिक दृष्टिकोण, दूरदर्शी सोच र कार्यशैलीले आफूलाई निकै आकर्षित गरेको उल्लेख गर्दै उनले भने, “गगन थापाजस्तो युवा नेतृत्वको सोच र पार्टीलाई एकताबद्ध बनाउने उहाँको कार्यशैलीले मलाई कांग्रेसको राजनीतिमा आउन ठुलो ऊर्जा दियो। आज म जुन उत्साहका साथ राजनीतिमा होमिएको छु, त्यसको मुख्य श्रेय गगन दाइको विचार र उहाँले देखाएको बाटोलाई जान्छ।”
​कलाकारिताको माध्यमबाट समाजलाई मनोरञ्जन र सन्देश दिँदै आएका कटुवाल अब राजनीतिक मञ्चमार्फत सोझै जनता र देशको सेवामा समर्पित हुन चाहन्छन्। केवल पद पाउनका लागि नभई पार्टी सङ्गठनलाई गतिशील बनाउन, तल्लो तहका कार्यकर्ताको भावना नेतृत्वसम्म पुर्‍याउन र नयाँ युवा पुस्तालाई कांग्रेसको मूलधारमा जोड्नका लागि आफ्नो उम्मेदवारी रहने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top