२०८३ असोज ७

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सम्पन्न रामेछाप नगरपालिकाको नगर अधिवेशनबाट पार्टीको महत्त्वपूर्ण र कार्यकारी पद सचिवमा रामेछाप नगरपालिका वडा नं. १, गोठगाउँका युवा नेता देवेन्द्र कार्की सर्वसम्मत रूपमा चयन हुनुभएको छ। नगरभित्र कांग्रेस सङ्गठन सुदृढीकरण, परिचालन र वैचारिक जग मजबुत बनाउन निरन्तर क्रियाशील रहँदै आएका कार्कीलाई १५औँ अधिवेशनले सर्वसहमतिमा नगर सचिवको जिम्मेवारी सुम्पिएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको १५औँ महाधिवेशन सम्बन्धी निर्णय र जिल्ला कार्यसमिति रामेछापको निर्देशानुसार आयोजित नगर अधिवेशनले सभापतिमा कमलविक्रम कार्कीलाई तेस्रोपटक निर्विरोध निर्वाचित गरेको छ भने सचिवमा गोठगाउँका देवेन्द्र कार्कीसहित सिङ्गो कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको छ।
रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँ स्थायी घर भई स्थानीय राजनीति र सामाजिक क्षेत्रमा सक्रिय देवेन्द्र कार्की स्थानीयस्तरमा पार्टी कार्यकर्ता माझ अत्यन्त लोकप्रिय, ऊर्जावान् र सांगठनिक दक्षता भएका युवा नेताका रूपमा परिचित हुनुहुन्छ। १५औँ अधिवेशन मार्फत नगर क्षेत्रमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउन, युवाहरूलाई कांग्रेसको सिद्धान्त र नीतिमा आबद्ध गराउन एवम् स्थानीय जनताका समस्यामा निरन्तर पैरवी गर्न उहाँको भूमिका अग्रस्थानमा रहँदै आएको छ।
गोठगाउँका जुझारु युवा नेता कार्कीले १५औँ अधिवेशनबाट सचिवको जिम्मेवारी पाएसँगै रामेछाप नगरमा कांग्रेसको सांगठनिक संरचना थप चुस्त, पारदर्शी र प्रविधिमैत्री बन्ने विश्वास स्थानीय नेता-कार्यकर्ताहरूले व्यक्त गरेका छन्।
सर्वसम्मत नयाँ कार्यसमिति
अधिवेशनले नगरको समग्र नेतृत्वमा अनुभवी र युवा शक्तिको सन्तुलन मिलाउँदै नयाँ टिम चयन गरेको छ:
नगर सभापति: कमलविक्रम कार्की (तेस्रोपटक निर्विरोध)
उपसभापति: कोमलदास श्रेष्ठ
उपसभापति: शर्मिला तामाङ घिसिङ
सचिव: देवेन्द्र कार्की (रामेछाप-१, गोठगाउँ)
सह-सचिव: कुमार श्रेष्ठ
नवनिर्वाचित सचिव देवेन्द्र कार्कीले पार्टीले आफूमाथि देखाएको विश्वास र दिएको जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ। १५औँ अधिवेशनको मर्म अनुसार नगरका प्रत्येक वडा र गोठगाउँसहित टोल-टोलसम्म कांग्रेसको संगठनलाई सशक्त बनाउने, वैचारिक स्पष्टता ल्याउने र आउँदा चुनौतीहरूलाई सामना गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने संकल्प उहाँले व्यक्त गर्नुभएको छ।
अधिवेशन भव्यताका साथ सम्पन्न गर्न योगदान पुर्याउने सम्पूर्ण नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित सचिव कार्कीसहित सम्पूर्ण टिमलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












