२०८२ असार १६ गते
रामेछाप नगरपालिका–१ गोठगाउँको भाजु टोलमुनि बासघारी छेउको गोरेटो बाटोमा असार १४ गते बिहान एक युवक मृत फेला परेका छन्। मृतक अन्दाजी ३२/३३ वर्षीय नवीन तामाङ रहेको प्रहरी स्रोतले जनाएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार तामाङको हत्या असार १३ गते राति नै भएको आशंका गरिएको छ। भोलिपल्ट बिहानपख एक स्थानीयले शव देखेपछि गाउँमा हल्ला फैलिएको थियो र प्रहरीलाई खबर गरिएको थियो।
शव अनुहार घोप्टो पारेर लडिरहेको अवस्थामा भेटिएको थियो। अनुहार तथा शरीरका विभिन्न भागमा गहिरा चोट र रगतको झोँस देखिएको थियो, जसले घटनामा हिंसात्मक हमला भएको संकेत दिएको छ।
सूचना पाएलगत्तै सबैभन्दा पहिले साँघुटार प्रहरी चौकीको टोली घटनास्थलमा पुग्यो। त्यसपछि धोबी प्रहरी चौकी र अन्ततः जिल्ला प्रहरी कार्यालय मन्थलीबाट अनुसन्धान टोली आएको थियो। प्रहरीले घटनास्थलको निरीक्षण गरी मुचुल्का तयार गर्यो।
शवलाई सुरुमा पोस्टमार्टमको लागि जिल्ला अस्पताल मन्थलीमा लगिएको थियो। तर मृतकका परिवारले त्यहाँ शव परीक्षण गर्न नमानेपछि शवलाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पठाइएको थियो।
टिचिङ अस्पतालमा प्रारम्भिक पोष्टमार्टम गरिएको छ, जसअनुसार मृतकको अनुहार, टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको पुष्टि भएको छ। यद्यपि, पोष्टमार्टमको आधिकारिक मूल रिपोर्ट भने अझै प्राप्त हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी प्रमुखका अनुसार, “घटनाको प्रवृत्ति हेर्दा यो आपराधिक नियतमा आधारित हत्या हुनसक्छ। अनुसन्धान जारी छ र संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ।”
मृतकको अन्त्येष्टि आज असार १६ गते काठमाडौँको स्वयम्भुस्थित गुम्बामा तामाङ समुदायको धार्मिक परम्पराअनुसार गरिएको छ। अन्त्येष्टिमा परिवारजन, इष्टमित्र, समाजसेवी तथा तामाङ समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
मृतकका परिवारले घटनाको निष्पक्ष र छिटो छानबिनको माग गर्दै दोषी पहिचान गरी कडा कारबाही गर्न आग्रह गरेका छन्।
स्थानीय बासिन्दाहरूले यस्तो घटनाले गाउँमा भय र असुरक्षा बढाएको जनाउँदै प्रहरी प्रशासनलाई सत्यतथ्य सार्वजनिक गर्न र शान्ति सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


