रामेछाप, २४ असार २०८२
रसुवाको टिमुरे खोलाबाट भोटेकोशी बाढीले बगाई बेपत्ता बनाएका तीन जना प्रहरीमध्ये एक जनाको शव फेला परेको छ। शव फेला पर्नेमा रामेछाप जिल्ला स्थित लिखु तामाकोशी गाउँपालिका–४ निवासी प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, श्रेष्ठको शव मंगलबार साँझ ६:२० बजे चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित १५ किलो नजिकै त्रिशूली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो। शव भेटिएपछि भरतपुर अस्पतालमा राखिएको छ।
श्रेष्ठ भन्सार क्षेत्रमा रहेका सर्वसाधारणको उद्धार कार्यमा खटिएका बेला बाढीले बगाएका थिए। शव फेला पर्दा एक खुट्टामा प्रहरीकै बुट रहेकोले उनी ड्युटीमै भएको पुष्टि भएको प्रहरी उपरीक्षक पुरीले जानकारी दिए। साथै, श्रेष्ठको पहिचान उनकी श्रीमतीले गरेकी हुन्।
श्रेष्ठ हाल रसुवाको प्रहरीचौकी हाकुमा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। उनलाई बाढीले बगाएपछि खोजी कार्य जारी थियो। बाढीले बगाएका अझै दुई जना प्रहरी जवान बेपत्ता छन् भने उनीहरूको खोजी कार्य नदी र आसपासका क्षेत्रमा जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
भोटेकोशी र त्यसका सहायक खोला तथा खोल्सामा आएको बाढीले केही दिनदेखि रसुवा, चितवन, धादिङलगायतका जिल्लामा क्षति पुर्याउँदै आएको छ। उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मीहरू नै बाढीको चपेटामा परेपछि सुरक्षाकर्मीको सुरक्षाबारे पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ।
श्रेष्ठको असामयिक निधनले रामेछापमा शोकको वातावरण छाएको छ। उनले लामो समयदेखि प्रहरी सेवामा समर्पित भई आएका थिए। निष्ठावान, कर्मठ र अनुशासित प्रहरीका रूपमा परिचित श्रेष्ठको निधनले सुरक्षाप्रेमीहरू स्तब्ध छन्।
प्रहरी कार्यालयले श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, बाँकी दुई जना बेपत्ता प्रहरीको यथाशीघ्र सकुशल फेला पार्ने प्रयास जारी राखिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?










