साउन ०२
काठमाडौं,– काठमाडौं महानगरपालिका अन्तर्गत कक्षा ११ र १२ का लागि प्रदान गरिने छात्रवृत्ति प्रवेश परीक्षा यही शनिबार (साउन ३ गते) बिहान ८ बजेबाट सञ्चालन हुने भएको छ। महानगरले शैक्षिक वर्ष २०८२ का लागि छात्रवृत्तिको अवसर प्राप्त गर्ने विद्यार्थी छनोट गर्न देशभरका विद्यार्थीबीच प्रतिस्पर्धात्मक परीक्षा आयोजना गर्न लागेको हो।
महानगरका अनुसार यस वर्ष १७,२२९ आवेदन परेका मध्ये १,०९२ विद्यार्थीका फारम विभिन्न त्रुटिका कारण अस्वीकृत गरिएको छ। बाँकी १६,१३७ जना विद्यार्थी अन्तिम परीक्षार्थीको सूचीमा परेका छन्। तीमध्ये ११,५९० जना विज्ञान संकाय, ४,१६४ व्यवस्थापन, ३२ मानविकी, ९५ शिक्षा, र २५६ कानुन समूहमा परीक्षा दिनेछन्।
परीक्षा दुई घण्टा अवधिको हुनेछ र १०० पूर्णाङ्क रहनेछ।
प्रश्नपत्रमा समावेश विषयहरू:
गणित – ३० नम्बर
विज्ञान – ३० नम्बर
अंग्रेजी – ३० नम्बर
सामान्य ज्ञान – १० नम्बर
परीक्षा बहुविकल्पीय (MCQ) ढाँचामा हुनेछ र नेगेटिभ मार्किङ लागू हुने छैन। पास हुनका लागि परीक्षार्थीले कम्तीमा ४०% अंक ल्याउनु पर्नेछ।
छात्रवृत्ति परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष र परीक्षा टोलीलाई महानगरले विशेष अभिमुखीकरण दिएको छ। परीक्षा केन्द्रमा शान्ति सुरक्षा, गोपनीयता र निष्पक्षता कायम राख्न सम्पूर्ण तयारी पूरा गरिएको शिक्षा विभागले जनाएको छ।
महानगरले छात्रवृत्ति कार्यक्रम आर्थिक रूपमा कमजोर, विपन्न तथा सीमान्तकृत समुदायका मेधावी विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले सञ्चालन गर्दै आएको हो। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले आफूले रोजेको निजी विद्यालयमा कक्षा ११ र १२ मा निःशुल्क पढ्न पाउनेछन्।
परीक्षा केन्द्र, समय र अन्य विवरण विद्यार्थीको प्रवेशपत्रमा उल्लेख गरिएको छ। प्रवेशपत्र महानगरको वेबसाइटमार्फत डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












