२०८२ साउन १२ गते
रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई दाजुभाइ सोमबार बिहान मृत फेला परेका छन्।
विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने आइतबार बिहान स्नान गर्ने क्रममा बेपत्ता भएका थिए। प्रहरीका अनुसार उनीहरू सोमबार बिहान करिब १० बजे कुण्डमै मृत अवस्थामा फेला परेका हुन्।
मृतक मनोज र सुजन मामा–फुपुका छोराहरू हुन्। उनीहरू आपसमा अत्यन्त घनिष्ठ दाजुभाइको रूपमा परिचित थिए। दाजु विवेक मिश्रका अनुसार काठमाडौंमा बस्दै आएका मनोज र विराटनगरस्थित घरमा रहेका सुजन केही दिनअघि काठमाडौं गएका थिए। त्यसपछि साथीभाइसँग १० साउनमा गोसाइँकुण्डको यात्रा गरेका थिए।
घटनाको विवरण अनुसार आइतबार बिहान स्नान गर्ने क्रममा एक जना चिप्लिएपछि अर्को व्यक्ति उनलाई बचाउन तल झरेका थिए। तर, दुर्भाग्यवश दुबै जना कुण्डमै बेपत्ता भएका थिए।
“एक जना भाइ नुहाउने क्रममा चिप्लिएपछि अर्का भाइ उनको उद्धार गर्न गएका थिए, यस्तो घटना भयो,” मृतक सुजनका दाजु विवेक मिश्रले बताए।
दुवैको शवलाई पोस्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। स्थानीय प्रहरी र उद्धार टोलीको सहयोगमा शव निकालिएको हो।
गोसाइँकुण्ड, जहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा हजारौं भक्तजन स्नान गर्न पुग्छन्, त्यहाँ यस्तो दुःखद घटना भएपछि सुरक्षाबारे थप सचेत हुनुपर्ने देखिएको छ।
आर.बि.एन. अनलाइन खबरको तर्फबाट दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


