RBN Online खबर

रामेछाप नगरपालिका अब ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका’

रामेछाप, २१ भदौ २०८२

रामेछाप नगरपालिकाले आधिकारिक रूपमा आफूलाई ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका’ घोषित गरेको छ। करिब पाँच वर्षदेखि निरन्तर ५१ वटा राष्ट्रिय सूचकहरू पूरा गर्दै बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सुरक्षा र सहभागितामा महत्वपूर्ण उपलब्धि हासिल गरेपछि शनिबार रामेछाप टुडिखेलमा आयोजना गरिएको भव्य समारोहमार्फत घोषणा गरिएको हो।

मुख्य अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले उद्घाटन गर्दै रामेछाप नगरको यो कदम प्रदेश र देशभरकै पालिकाका लागि प्रेरणा भएको टिप्पणी गर्नुभयो। उहाँका शब्दमा, “समाजको उज्ज्वल भविष्य बालमैत्री शासनमै निहित छ। रामेछापले उठाएको यो ऐतिहासिक कदमले बाँकी सबै पालिकालाई मार्गदर्शन गर्नेछ।”

निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्वबहादुर तामाङ कान्छारामले बालबालिकामैत्री समाज निर्माण राष्ट्रकै आवश्यकता भएको बताए। बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले भने बालबालिकाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव अन्त्य गर्दै सुरक्षित र सभ्य नगरपालिका बनाउन सबैको साझा जिम्मेवारी रहेको जोड दिनुभयो।

नगर प्रमुख लव न्यौपानेले नगरका सबै ९ वडाले नै ‘बालमैत्री शासनयुक्त वडा’ घोषणा भइसकेको जानकारी दिए। उहाँका अनुसार यसअघि नै रामेछाप पूर्णखोप, खुला दिसामुक्त र पूर्ण साक्षर नगरका रूपमा चिनिएको थियो। उपप्रमुख बालकुमारी कार्कीले २०७८ सालदेखि बालमैत्री शासनको अभ्यास गर्दै आएको स्मरण गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा नगरले निरन्तर प्रगति गर्दै आएको बताइन्।

हाल रामेछाप नगरपालिकामा ३६ हजार ६२१ जनसंख्या रहेकोमा १८ वर्षमुनिका १० हजार २४१ जना बालबालिका छन्। उनीहरूलाई लक्षित गरी ११३ वटा बाल क्लब र १० वटा बाल सञ्जालमार्फत करिब २ हजारभन्दा बढी बालबालिका सक्रिय सहभागितामा रहेका छन्।

घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादे, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला समन्वय समिति उपप्रमुख प्रेमसागर थापा, सुरक्षा निकायका प्रमुख, विभिन्न दलका प्रतिनिधि, शिक्षक, पत्रकार, विद्यार्थी, बालबालिका र सर्वसाधारण गरी करिब ५ हजारको उपस्थिति रहेको थियो।

यसअघि भदौ ११ गते मन्थली नगरपालिका जिल्लाकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका’ घोषित भएको थियो भने, रामेछाप नगरपालिका जिल्लाको दोस्रो पालिका बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top