काठमाडौँ – यस वर्षको दशैं फूलपाती नेपाली फिल्म उद्योगका लागि निकै महत्त्वपूर्ण बन्ने देखिएको छ। चार बहुप्रतिक्षित नेपाली चलचित्रहरू – अभिमन्यु च्याप्टर वान, बलिदान, हरि बहादुरको जुत्ता र माइतीघर – एकैसाथ प्रदर्शनमा आउने भएका छन्।
पहिले अभिमन्यु च्याप्टर वान भदौ २७ गते नै रिलिज गर्ने तयारी थियो। तर जेन–जेड आन्दोलन र मुलुकको राजनीतिक अवस्थाका कारण मिति पर सारिएको हो। अब उक्त चलचित्र दशैंको अवसरमै अन्य नेपाली फिल्महरूसँगै हलमा आउँदैछ।
यता सोही समय बलिउड फिल्म कान्तारा २ पनि प्रदर्शनमा आउने घोषणा भएको छ। यसले नेपाली फिल्महरूको व्यापारमा प्रत्यक्ष असर पार्ने आशंका गरिँदैछ।
सामाजिक सञ्जालमा भने दर्शकहरूले नेपाली फिल्मलाई प्राथमिकता दिनुपर्ने आवाज बलियो बनिरहेका छन्। उनीहरूले सबै नेपाली फिल्मलाई पर्याप्त शो टाइम दिनुपर्ने माग राखेका छन्।
एक दर्शकले लेखेका छन्, “हलिउड र बलिउडका फिल्महरू विश्वका जुनसुकै बजारबाट पनि कमाउन सक्छन्। तर नेपाली फिल्मले आफ्नै घरमा ठाउँ नपाउनु अन्याय हो। विदेशी फिल्म केही दिन ढिला रिलिज भए पनि ठूलो असर पर्दैन।”
फिल्म समीक्षकहरू पनि दर्शकको पक्षमै देखिएका छन्। उनीहरूका अनुसार दशैं जस्तो ठूलो पर्वमा नेपाली कथाले ठूलो पर्दामा स्थान पाउनु गर्वको कुरा हो। “देशकै पर्वमा देशकै फिल्मलाई सहयोग गर्ने हो भने दर्शक र उद्योग दुवैलाई फाइदा हुनेछ,” समीक्षकहरूको भनाइ छ।
यसरी चार नेपाली चलचित्र एकैपटक रिलिज हुँदै गर्दा मुलुकको फिल्म उद्योगमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ। तर विदेशी फिल्मसँगको प्रतिष्पर्धाले भने यसलाई कस्तो मोड दिनेछ भन्ने प्रतीक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?











