RBN Online खबर

रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी निर्वाचित

२४ फागुन, रामेछाप ।

रामेछापको एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. कृष्णहरि बुढाथोकी विजयी भएका छन्। पुराना राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै उनले उल्लेखनीय मतान्तरसहित जीत दर्ता गरेका हुन्।

निर्वाचनको सुरुवाती चरणमा उज्यालो नेपाल पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले अग्रता लिएको भए पनि मतगणना अघि बढ्दै जाँदा बुढाथोकीले निरन्तर मत बढाउँदै अन्ततः जित सुरक्षित गरे।

अन्तिम मत परिणामअनुसार बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत पाए। यसरी बुढाथोकीले ढुङ्गेललाई ७ हजार १ सय ९९ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

त्यसैगरी नेपाली काँग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत प्राप्त गरे भने नेकपाका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ७ मत ल्याए। उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २ सय १ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये राप्रपाका गोरे तामाङले ५ सय ४३ मत पाए। नेमकिपाकी एकमात्र महिला उम्मेदवार केशरी श्रेष्ठले ५६ मत प्राप्त गरिन्। राष्ट्रिय जनमोर्चाका उम्मेदवारले १६१ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले ११५ मत, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवारले ५६ मत तथा नेशनल रिपब्लिक नेपालका उम्मेदवारले ७७ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवारले १ हजार ३ सय ६३ मत ल्याउँदा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारले १५६ मत पाए। आम जनता पार्टीका पदमबहादुर तामाङले ३६ मत प्राप्त गरेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरू अरुण कार्की, बाबु काजी खड्का र सन्तोष घिमिरेले क्रमशः ९८, २२ र ६१ मत प्राप्त गरेका छन्।
लामो समय नेपाल बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका बुढाथोकीले पछिल्लो समय रामेछापको विकासबारे अध्ययन तथा बहसमा सक्रियता देखाउँदै आएका थिए। मन्थली नगरपालिका–१२ गेलु सिक्रालका स्थायी बासिन्दा रहेका उनी हाल काठमाडौंमा बसोबास गर्दै आएका छन्।

रास्वपाको सदस्यता लिएको दुई दिनमै प्रतिनिधि सभा सदस्यको टिकट पाएका बुढाथोकीले पहिलो प्रयासमै चुनाव जितेर सबैलाई आश्चर्यचकित बनाएका छन्। रामेछापमा परम्परागत रूपमा काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने अपेक्षाबीच उनले अप्रत्याशित सफलता हासिल गरेका हुन्।

यद्यपि उनलाई जिल्लाको भूगोलबारे पर्याप्त जानकारी नभएको आरोप पनि लाग्दै आएको छ। मन्थली बाहेक अन्य स्थानीय तहमा उनी कमै पुगेको भन्दै केहीले आलोचना गर्ने गरेका छन्।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापमा १४ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारसहित कुल १७ जनाबीच प्रतिस्पर्धा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top