
काठमाडौं । बजारमा देखिएको ग्यास अभाव, कालोबजारी तथा कृत्रिम अभावको अन्त्य गर्दै आम नागरिकलाई सहज, नियमित र सुलभ रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), बानेश्वर बहुमुखी क्याम्पसको आयोजनामा खबरदारी र्याली सम्पन्न भएको छ।

बानेश्वर बहुमुखी क्याम्पसबाट सुरु भएको र्याली तिनकुनेसम्म पुगेको थियो। र्यालीमा सहभागी विद्यार्थीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, कालोबजारी नियन्त्रण गर्न तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकारसँग माग गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियु अध्यक्ष भुमि राज अधिकारीले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताउनुभयो। उहाँले ग्यास अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभाव तत्काल अन्त्य गर्न सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गर्नुभयो।

अध्यक्ष अधिकारीले विद्यार्थीहरू केवल शैक्षिक मुद्दामा मात्र सीमित नभई जनसरोकारका विषयमा समेत जिम्मेवार र सचेत आवाज उठाउँदै आएको बताउँदै आम नागरिकलाई प्रत्यक्ष असर पार्ने समस्याविरुद्ध स्ववियुको खबरदारी निरन्तर रहने स्पष्ट पार्नुभयो। र्यालीमा सहभागी सम्पूर्ण विद्यार्थी तथा सहयोगीप्रति स्ववियुले धन्यवाद व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












