२०८३ असोज १०

मन्थली, रामेछाप । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनका अवसरमा पार्टी राजनीतिमा नयाँ ऊर्जा, रूपान्तरण र पुस्तान्तरणको बहस तीव्र बनेको छ। यसैक्रममा लिखु तामाकोशी गाउँपालिका–३, धोबी (रामेछाप) निवासी जागरुक युवा नेता निरोज खड्काले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला १०) पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गर्नुभएको छ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गर्नुभएका खड्काले नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को इकाइ सभापति हुँदै राजनीतिक यात्रा सुरु गर्नुभएको हो। त्यसपश्चात् नेविसंघको जिल्ला उपसभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएका उहाँले पार्टीको सङ्गठनात्मक संरचनाभित्र क्षेत्रीय सचिव र क्षेत्रीय सभापतिको महत्त्वपूर्ण जिम्मेवारी समेत वहन गरिसक्नुभएको छ।
राजनीतिक निष्ठासँगै शैक्षिक योग्यतामा पनि अब्बल रहनुभएका खड्काले राजनीति शास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर (मास्टर्स) गर्नुभएको छ। सामाजिक तथा राजनीतिक क्षेत्रका विभिन्न अध्ययन तथा अनुसन्धानमूलक सोधकार्यमा संलग्न रहँदै आउनुभएका उहाँलाई वैचारिक एवं स्पष्ट दृष्टिकोण भएका युवा नेताका रूपमा लिइन्छ। लामो समयदेखि सामाजिक सङ्घ-संस्थाहरूमा सक्रिय रहँदै समाजसेवामा समर्पित खड्का स्थानीय तहदेखि जिल्लास्तरसम्म लोकप्रिय हुनुहुन्छ।
विशेष गरी जिल्लाको राजनीतिमा शुद्धीकरण, वैचारिक रूपान्तरण र पुस्तान्तरणको पक्षमा स्पष्ट र खरो रूपमा प्रस्तुत हुने खड्काले काङ्ग्रेसलाई समयसापेक्ष, गतिशील र युवामैत्री बनाउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभएको छ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै नेता खड्काले भन्नुभयो, “नेपाली काङ्ग्रेसलाई थप सुदृढ, समावेशी र सशक्त बनाउनुका साथै युवाको भावना र एजेण्डालाई केन्द्रीय तहसम्म पुर्याउनका लागि मैले उम्मेदवारी दिएको हुँ। सङ्गठनको सुदृढीकरण, निष्ठावान् कार्यकर्ताको मूल्याङ्कन र राजनीतिक शुद्धीकरण नै मेरो मुख्य प्राथमिकता हो।”
महाधिवेशनमा मनोनयन दर्ताको तयारीलाई तीव्र पार्नुभएका उहाँले पार्टीका सम्पूर्ण आदरणीय क्षेत्रीय प्रतिनिधिहरू, ज्येष्ठ राजनीतिज्ञ, युवा साथीहरू तथा शुभेच्छुकहरूसँग आवश्यक सल्लाह, सुझाव र अमूल्य सहयोगको हार्दिक अपिल गर्नुभएको छ। उहाँको उम्मेदवारी घोषणासँगै जिल्लाका युवा कार्यकर्ता तथा शुभेच्छुकहरूमा नयाँ उत्साह थपिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












