४ बिहिवार, २०८२ मङ्सिर – रामेछाप
रामेछापको सदरमुकाम मन्थलीमा आयोजना हुने प्रतिष्ठित ८ौँ मन्थली नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवारदेखि सुरु भएको छ। मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न उद्घाटन कार्यक्रमको शुभारम्भ नगर प्रमुख लव श्रेष्ठले गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख श्रेष्ठले खेलकुदले व्यक्तिको स्वास्थ्य, अनुशासन, नेतृत्व र जीवनशैलीमा सकारात्मक रुपान्तरण ल्याउने बताए। उनले विद्यालय तहमै खेलकुद संरचना विस्तार, प्राविधिक सहयोग र आवश्यक पूर्वाधार निर्माणलाई नगरपालिका प्राथमिकतामा राखिएको उल्लेख गर्दै खेलमैत्री वातावरण बनाउन निरन्तर काम भइरहेको बताए।
६ मंसिरसम्म चल्ने प्रतियोगितामा विविध खेल विधामा प्रतिस्पर्धा
भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्डो, उसु, कराँतेलगायतका खेल विधामा १४ वडाका २० माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्।

समितिका अध्यक्ष गोपाल माझीका अनुसार प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान, विद्यालयबीच मैत्रीपूर्ण सम्बन्ध मजबुत बनाउने तथा स्थानीयस्तरमा खेलकुद वातावरणलाई थप सशक्त बनाउने उद्देश्य राखिएको छ।

मार्च पासमा मन्थली माध्यमिक पहिलो, १५ हजार पुरस्कार
प्रतियोगिताको पहिलो दिन स्काउटमा आवद्ध विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक मार्च पासले कार्यक्रम स्थलमा उत्साह थपेको थियो।
मूल्यांकनका आधारमा—
• मन्थली माध्यमिक विद्यालय पहिलो — १५,००० रुपैयाँ
• तामाकोशी इङ्लिस बोर्डिङ स्कुल दोस्रो — १०,000 रुपैयाँ
• कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुल तेस्रो — ५,000 रुपैयाँ
कार्यक्रम हेर्न शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो।

पहिलो दिनका खेलहरू उत्साहपूर्ण, भलिबलदेखि तेक्वान्डोसम्म सुरु
१५ सय मिटर दौड, हाइजम्प, सटफुट लगायतका एथलेटिक्स प्रतिस्पर्धा सम्पन्न भएका छन् भने भलिबल, कबड्डी र तेक्वान्डोका खेलहरू सुरु भएका छन्।
व्यवस्थापन, सुरक्षा, खेल अनुशासन र तयारी उत्कृष्ट भएकाले पहिलो दिनका खेलहरू सहज र उत्साहपूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
दोस्रो दिनका खेलहरू शुक्रवार बिहान ७ बजेदेखि
समितिका अनुसार शुक्रवार बिहान ७ बजेबाट दोस्रो दिनका प्रतिस्पर्धा सुरु हुनेछ। विभिन्न विधामा विद्यार्थीबीच हुने प्रतिस्पर्धाले प्रतियोगितालाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।
यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद प्रतिभा पहिचान गरी भविष्यका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












