RBN Online खबर

बलिदान : ठूलो क्यानभास, फितलो प्रस्तुति 

काठमाडौँ,असाेज २५ — फिल्ममा एउटा गज्जबको शक्ति हुन्छ । निर्देशकले पर्दाभित्र यस्तो काल्पनिक संसार खडा गरिदिइसक्छन् कि त्यसलाई विश्वास नगरी दर्शक बस्नै सक्दैनन् । त्यो वास्तविक संसारसँग मिल्दो देखिन्छ अथवा, यथार्थबाट निकै पर भए पनि त्यसमा यस्ता पक्षहरु हुन्छन्, जसले दर्शकलाई त्यो संसारसँग नजिक बनाइरहन्छ ।

त्यसैले त ती कथाले हलमा २ घण्टा बाँधेर राखेको पत्तो हुँदैन । त्यस्ता कथाका पात्रमा दर्शकले आफूलाई समानूभुत गरिसक्छन्, अनि त पर्दामा हिरोले मुठ्ठी कस्दा बलचाहिँ दर्शकले दिइरहेका हुन्छन् । तर, यदि निर्देशकले त्यही संसार निर्माण गर्न सकेन भने, के हुन्छ ? दर्शकले त्यो संसारलाई विश्वास गर्न सक्दैन । फलस्वरूप कथाबाट दर्शकको ध्यान भड्किन्छ । अनि, दर्शक आङ तन्काउन थाल्छन् ।

हो, सन्तोष सेन निर्देशित ‘बलिदान’मा यही समस्या छ । निर्देशक सेनले यस पटक फेरि निकै ठूलो क्यानभासमा ‘बलिदान’को चित्र कोर्ने कोसिस गरेका छन् । तर, फिल्मको क्यानभास मात्रै ठूलो देखिन्छ, त्यसमा रङ लगाउने भाँती मिलेको देखिन्न । जस्तै, फिल्ममा भिल्लमगढ भन्ने ठाउँको कल्पना गरिएको छ । भिल्लमगढमा बस्दै आएको आमा छोराको कथा फिल्ममा समेटिएको छ । तर, फिल्ममा एकसाथ थुप्रै विषय समेट्ने प्रयास छ । जस्तै, यहाँ आमा छोराको सम्बन्ध मात्रै होइन, राजनीति छ, पहिचानको लडाइँ छ । भिल्लमगढका मानिसहरूमाथिको शोषण छ, सत्ताको लोभ अनि धरती माताको विषय छ । तर, यी सबै विषयलाई कथामा उन्न नजान्दा ‘बलिदान’को यो ठूलो क्यानभासको सौन्दर्य हराएको छ ।

फिल्मको कथा र कथा वाचन खासै नयाँ छैन । गाउँमा बैरीको दमन सुरु हुनु, एकल आमाले छोरो हुर्काउनु, त्यही छोरोले पछि दुश्मनसँग बदला लिनु, यसअघि फिल्महरूमा भनिँदै आएको कथा हो । तर, यही कथालाई पनि पटकथाको डोरोले बान्न नसक्दा ‘बलिदान’ले दिन खोजेको बलिदानको खास अर्थ दर्शकसँग सञ्चार हुँदैन । फिल्मले एउटी आमाको कोखबाट जन्मिएको सुपुत्रले अन्यायमा परेकी त्यही आमा र धरती मातका लागि लडेको लडाइँ, दिएको बलिदानको सशक्त कथालाई छुन खोजेको छ । तर, पटकथाले मुख्य कथासँगै अन्य उपकथाको सँगालो मिलाउन सकेको छैन ।

फिल्ममा सजिलै अनुमान गर्न सकिने किसिमका उपकथा छन् । उदाहरणका लागि, गाउँमा देखापरेको नयाँ ‘बाबा’ले भिल्लम गढका मानिसहरुमा शोषण सुरु गर्छ । त्यही शोषणविरुद्ध जाँदा अभय(समीर भट्ट)को बुवालाई बाबाको समूहले मारिदिन्छन् । अन्यायको विरुद्धमा आवाज उठाउने अभयकी आमालाई पनि यो घट्नाले तर्साउँछ । त्यसैले उनी पहिचानविहिन भएर छोरालाई हुर्काउँछिन् । तर, अभय जतिजति हुर्कँदै जान्छ, तब-तब भिल्लम गढमा समस्याहरु उत्पन्न हुन थाल्छ । त्यसपछि अभय ती समस्यासँग जुध्न थाल्छन् । तर, सजिलै अनुमान गर्न सकिने कथा, अतिरञ्जित संवाद र ‘लाउड’ अभिनयले फिल्ममा कथा र उपकथाको कुनै तादम्य मिलाउँदैन । उदाहरणका लागि फिल्मको सुरुवातमै अभयकी आमाले एक बालकलाई सत्रुको हातबाट छुटाएकी हुन्छिन् । तर, बीचमा ती बालक अचानक हराउँछन्, उनीबारे कसैलाई अत्तोपत्तो हुन्न । तर, हामीले सजिलै अनुमान गर्न सक्छौं, कि उक्त पात्र फिल्ममा पछि महत्त्वपूर्ण घडीमा देखापर्नेछन् । तर, उक्त पात्रलाई पनि फिल्ममा सटिक तरिकाले स्थापना गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top