RBN Online खबर

महिला सशक्तिकरणको यात्रा: सानो प्रयास, ठूलो प्रभाव

अन्तर्राष्ट्रिय महिला ग्लोरिया पुरस्कार विजेता आश्मा न्यौपानेसँग विशेष कुराकानी

महिला सशक्तिकरणको सन्देशलाई सशक्त समाज निर्माणका लागि कसरी फैलाउन सकिन्छ?

प्रत्येक व्यक्तिले आफ्नै ठाउँबाट सानो प्रयास गर्न सक्छ। साना–साना सकारात्मक कदमहरूले ठूलो प्रभाव पार्न सक्छन्। महिलाका लागि सम्मानजनक वातावरण बनाउने, उनीहरूलाई अवसर दिन प्रोत्साहित गर्ने र उनीहरूको हरेक प्रयासलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ। सञ्चार माध्यम, सामाजिक संस्था र व्यक्तिगत पहलमार्फत सशक्त समाज निर्माण सम्भव छ।

महिला सशक्तिकरणका लागि तपाईंको सन्देश के छ?

महिलाहरूले कहिल्यै आफ्नो क्षमता र सपनालाई कम आँक्नु हुँदैन। हरेक चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ। आत्मविश्वास, निरन्तर प्रयास र सहकार्यले महिला सशक्तिकरणको अभियान सफल बन्छ।

नेपालमा महिलामाथि हुने दुर्व्यवहारका मुख्य कारणहरू के हुन्?

सांस्कृतिक परम्परागत सोच, अशिक्षा र आर्थिक निर्भरता प्रमुख कारण हुन्। अझै पनि धेरै ठाउँमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने प्रवृत्ति छ। कानुन कार्यान्वयनको कमजोरी र समाजमा मौन समर्थनले पनि समस्या गहिरो बनाएको छ।

महिला सशक्तिकरणका लागि प्रभावकारी उपायहरू के हुन सक्छन्?

शिक्षामा पहुँच, आर्थिक आत्मनिर्भरता र बलियो कानुनी संरचना अत्यन्त आवश्यक छन्। साथै महिलाहरू स्वयं पनि आफ्ना अधिकार र क्षमताबारे सचेत हुनुपर्छ। यस विषयमा सञ्चार माध्यमले जनचेतना फैलाउन ठूलो भूमिका खेल्न सक्छ।

सञ्चार क्षेत्रमा महिलाको उपस्थितिलाई कसरी हेर्नुहुन्छ?

अहिले सञ्चार क्षेत्रमा महिलाको सक्रियता बढ्दै गएको छ, जुन सकारात्मक संकेत हो। तर नेतृत्व तहमा अझै महिलाको उपस्थिति न्यून छ। कठिनाइका बाबजुद महिला सञ्चारकर्मीहरूको संघर्षले नयाँ पुस्तालाई प्रेरणा दिएको छ।

महिला हिंसा रोकथामका लागि सरकारी प्रयास कत्तिको प्रभावकारी छन्?

सरकारले कानुनी सुधार, स्थानीय तहमा महिला प्रतिनिधित्व र महिला उद्यमशीलताका कार्यक्रमहरू ल्याएको छ। तर ती नीति कागजमै सीमित हुँदा प्रभाव कम देखिएको छ। तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन भए मात्र परिणाम देखिन्छ।

महिला दुर्व्यवहार रोक्न समाजको भूमिका कस्तो हुनुपर्छ?

समाजले सोच्ने, हेर्ने र बोल्ने तरिका बदल्नुपर्छ। दुर्व्यवहार लुकाउने होइन, पीडितको साथ दिनुपर्छ। बाल्यकालदेखि नै लैङ्गिक समानताको शिक्षा आवश्यक छ। महिलामाथिको दुर्व्यवहारलाई सामान्य होइन, अपराधका रूपमा हेर्ने संस्कार विकास गर्नुपर्छ।

व्यक्तिगत रूपमा तपाईंले 

भेदभाव वा दुर्व्यवहारको सामना गर्नुभएको छ?

म आफूलाई साहसी, अडिग र आत्मनिर्भर व्यक्ति मान्छु। परिवार र साथीहरूले मेरो व्यक्तित्वलाई सम्मान गरेका छन्। यद्यपि, कहिलेकाहीँ केही व्यक्तिहरूले नपत्याउने नजरले हेर्ने वा दुर्व्यवहार गर्न खोज्ने प्रयास गर्छन्। यस्तो अवस्थामा मैले जहिल्यै आफ्नो स्वाभिमान र आत्मसम्मानको रक्षा गर्दै बोल्ने साहस गरेकी छु।

म जान्दछु—आज म चुप बसे भने भोलि अरू महिलाहरू पनि यही दुर्व्यवहारको शिकार हुन सक्छन्। जबसम्म आफूमा विश्वास हुन्छ, गलतविरुद्ध आवाज उठाउन सकिन्छ। गल्ती नभएको ठाउँमा दुनियाँ के भन्छ भन्ने कुराले मलाई कहिल्यै विचलित बनाउँदैन।

महिला भएर काम गर्दा कतिपयले हाम्रो क्षमतामाथि शंका गर्छन्। तर मैले आफ्नो कर्म, समर्पण र इमानदारिताले ती पूर्वाग्रह तोड्दै आएकी छु। म आफ्ना सिद्धान्तमा अडिग छु, त्यसैले कसैले पनि मलाई गलत नजरले हेर्न सक्दैन। महिलालाई कमजोर देख्ने सोच बदल्नै पर्छ।

महिला सशक्तिकरणमा 

युवाहरूको भूमिका कस्तो हुनुपर्छ?

युवाहरू परिवर्तनका संवाहक हुन्। सामाजिक सञ्जाल, शैक्षिक संस्था र समुदायस्तरमा उनीहरूले महिला सशक्तिकरणका पक्षमा आवाज उठाउन सक्छन्। गलत परम्परा र महिलाविरुद्धका हिंसात्मक गतिविधिविरुद्ध स्पष्ट रूपमा बोल्नुपर्छ।

सञ्चार क्षेत्रबाट तपाईंले के कदम चाल्नुभएको छ?

मैले महिलामुखी कार्यक्रमहरू निर्माण गर्दै उनीहरूको आवाजलाई प्राथमिकता दिएकी छु। महिलाका सफलताका कथाहरू प्रस्तुत गर्नुका साथै प्रेरणामूलक कार्यशालाहरू आयोजना गर्दै आएको छु। दुर्व्यवहारविरुद्ध आउने सन्देश र उजुरीहरूमा टिम बनाएर न्यायका लागि पहल गरिरहेका छौँ।

अन्त्यमा, महिला सशक्तिकरणको यात्राबारे तपाईंको सन्देश?

महिलाहरूले आफ्नो अधिकारबारे सचेत भएर डर र हिनताबोध त्याग्दै अगाडि बढ्नुपर्छ। समाजले पनि महिलालाई अवसर र सम्मानको दृष्टिले हेर्न सिक्नुपर्छ। सञ्चार माध्यम र समाजको सहकार्यबाट मात्र सशक्तिकरण सम्भव छ।

धन्यवाद। महिला सशक्तिकरणको यो यात्रा सबैको साझा जिम्मेवारी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top