साउन ५
काठमाडौं– साउन महिनाको पहिलो सोमबारको अवसरमा आज पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनहरूले दर्शन गरेका छन्।
बिहान सबेरैदेखि शिवभक्तहरू लाममा उभिएर पशुपतिनाथको दर्शनका लागि पर्खिरहेका देखिए। विशेषगरी महिलाहरू हरियो चुरा, पोते, साडी र मेहेन्दी लगाएर श्रद्धा भावका साथ पूजा गर्न पुगेका थिए।पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विशेष तयारी गरेको छ।
दर्शनका लागि तीनवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ—महिला, पुरुष र वृद्ध तथा अपांगता भएका व्यक्तिहरूका लागि। कोषका अनुसार आज बिहान ३ बजेदेखि नै मन्दिर खुला गरिएको हो।साउनको सोमबार विशेष व्रत र पूजासाउन महिनामा सोमबारको विशेष महत्व छ।
हिन्दू धर्मावलम्बीहरू यो महिनाभरि विशेष गरी सोमबार शिवजीको व्रत बस्ने र जल, दूध, बेलपत्र, धतुरो लगायतका सामग्री चढाउने गर्छन्। शिवपुराणका अनुसार साउनको सोमबार व्रत गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ।काठमाण्डौका शिव मन्दिरहरू—बौद्धको घुंतेश्वर, कपनको गणेशेश्वर, मैतीदेवीको क्षेत्रेश्वर, टेकुको कालेश्वर, शंखमूलको शिव मन्दिरमा पनि आज भक्तजनको चहलपहल देखिएको छ।
यातायात व्यवस्थापन र सुरक्षामा सशस्त्र प्रहरी परिचालनपशुपति क्षेत्रमा भीड बढ्ने भएकाले ट्राफिक प्रहरीले केही सवारी मार्गहरूमा डाइभर्सन गरेको छ। गुहेश्वरी, गौशाला, जयबागेश्वरी लगायतका क्षेत्रहरूमा सवारी चाप व्यवस्थापन गर्न अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ।साथै, सम्भावित घटना रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र सिसी क्यामेराको सहायतामा निगरानी बढाइएको छ।
स्वयंसेवकहरू भक्तजनलाई लाइन व्यवस्थापन, पानी वितरण र प्राथमिक उपचारमा सहयोग गरिरहेका छन्।पशुपतिनाथमा यस्तो भीड साउन महिनाभरि सोमबारहरूमा दोहोरिने कोषले जनाएको छ। भक्तजनहरू धार्मिक आस्थाका साथ सुरक्षित र व्यवस्थित ढंगले दर्शन गर्न पुग्न कोषले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












