
काठमाडौं,असाेज २५- माओवादी, विप्लव र जसपाको एकतामा सामेल हुने कि नहुने भन्ने विवादका बीच शुक्रबार बसेको नेकपा एसको सचिवालय बैठक आइतबारका लागि फेरि बस्ने गरी स्थगित भएको छ । बैठकमा नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको विषयलाई अहिले एजेण्डा नबनाइने कुरा अध्यक्ष माधवकुमार नेपालले राखेका थिए ।
उक्त पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार एकताका विषयमा एक मत नभएका कारण समान मत निर्माण गर्नका निम्ति निरन्तर छलफल भइरहेको छ ।
‘मुख्य कुरा एकता हुन्छ कि हुँदैन भन्ने हो, भएन भने हाम्रो पार्टी कस्तो बनाउने भन्ने विषयमा छलफल गर्छौं’, उनले भने, ‘एकता हुने भएमा एकता गर्ने दलको स्वरुप कस्तो हुने भन्ने विषयमा त्यहीँ गएर छलफल होला, अहिले हामीले त्यस्तो छलफल चलाएका छैनौं ।’

शुक्रबारको बैठकले वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै निर्वाचनसम्बन्धी कार्योजना निर्माण गर्ने, संगठनात्मक कार्योजना, केन्द्रीय कमिटीको बैठकको मिति तथा एजेण्डा तय गर्ने गरी प्रस्ताव अगाडि सारेको उनले बताए । बैठकको शुरुमै एकता वार्ता समितिको तर्फबाट संयोजक बेदुराम भुसालले रिपोर्टिङ गरेका थिए । उनले माओवादी, विप्लव र जसपासँग वार्ता चलिरहेको बताए ।
ती दलका नेताहरु ‘एकता गर्ने’ कुरामा एकमत छन् । तर, राजनीतिक, वैचारिक र संगठनात्मक कुरा टुंगिन बाँकी रहेको भुसालले बैठकलाई जानकारी गराए । त्यसपछि एकताकै विषयलाई लिएर नेताहरुले आ–आफ्नो मत राखेका थिए ।
यस्तो किसिमको एकताले सम्पूर्ण वापन्थीलाई एक ठाउँमा नल्याउने भन्दै एकथरि नेताले एकताका निम्ति हतार गर्नुहुँदैन भन्ने मत राखेका छन् । अर्काथरि नेताले विचार मिल्ने वाम–प्रगतिशील शक्तिबीच एकता गर्दै जानु उपयुक्त हुने धारणा शुक्रबारको बैठकमा राखे ।

परिवर्तित सन्दर्भमा नेतृत्व हस्तान्तरण, त्यसका निम्ति विशेष महाधिवेशनको विषय पनि शुक्रबारको बैठकमा उठ्यो । तर, प्रस्तावका रुपमा नआएको बैठकका सहभागी एक नेता बताउँछन् । ‘अध्यक्षले यस्ता कुरा सुन्न चाहनुभएन, पहिले एकताको कुरा टुंगो लगाऔँ भन्नुभयो’, ती नेताले बताए ।
ती नेताको भनाइलाई उपाध्यक्ष ज्वालाले पुष्टि गरेका छन् । उनले भने, ‘सकेसम्म एकताकै विषयमा एक मत बनाउने प्रयास छ, भएन भने हाम्रो पार्टी कस्तो बनाउने भन्नेबारे छलफल हुन्छ ।’
उक्त बैठक एक सहयोगीको घरमा बसेका कारण स्थान भन्न नमिल्ने उपाध्यक्ष ज्वालाले बताए । भोलि पनि बैठक त्यहीँ बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?