२०८३ असोज १४

मन्थली, रामेछाप । सुनापति गाउँपालिका-१, गुन्सीकी अस्मिता चौलागाईं नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रामेछाप प्रदेश सभा क्षेत्र नं. (ख) बाट प्रदेश महाधिवेशन प्रतिनिधि (महिलातर्फ) मा निर्विरोध निर्वाचित हुनुभएको छ। मनोनयन दर्ताको तोकिएको समयभित्र अन्य कसैको उम्मेदवारी नपरेपछि चौलागाईं सर्वसम्मत चयन हुनुभएको हो।
अस्मिताको राजनीतिक यात्राको जग पारिवारिक निष्ठा र संस्कारसँग जोडिएको छ। उहाँका पिता निवृत्त शिक्षक नारायणबाबु चौलागाईं वि.सं. २०४७ सालदेखि नै नेपाली कांग्रेसको भातृ संगठन नेपाल शिक्षक संघ रामेछापमा निरन्तर क्रियाशील रहँदै पूर्व जिल्ला कार्यसमिति सदस्यसमेत भइसक्नुभएको छ। बाबुको सामाजिक प्रतिष्ठा र वैचारिक प्रेरणाकै जगमा अस्मिताले सानै उमेरदेखि राजनीतिक चेतना आत्मसाथ गर्नुभयो।
आफूले माध्यमिक शिक्षा हासिल गरेको श्री शतालिङ्गेश्वर मावि, गुन्सीको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई समिति सदस्यबाट सुरु भएको उहाँको सांगठनिक यात्रा पछि कांग्रेसको क्रियाशील सदस्यता हुँदै क्षेत्रीय प्रतिनिधिसम्म विस्तार भयो। गाउँ र क्याम्पस तहको धरातलीय राजनीतिमा निरन्तर सक्रिय रहँदै आउनुभएकी चौलागाईं अहिले बागमती प्रदेश महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा पुग्नुभएको हो।
निर्विरोध निर्वाचित भएपछि खुसी व्यक्त गर्दै चौलागाईंले बुबाको निष्ठावान् राजनीतिक विरासत नै आफ्नो मार्गदर्शक भएको बताउनुभयो। प्रदेश तहमा पुगेर रामेछाप (ख) का जनता, महिला अधिकार, शिक्षा र युवाका सवाललाई प्रस्टसँग उठाउने उहाँको प्रतिबद्धता छ। निष्ठावान् पारिवारिक पृष्ठभूमि बोकेकी युवा महिला नेतृ चौलागाईंको यो चयनले रामेछाप कांग्रेसभित्र नयाँ पुस्ता र महिला नेतृत्वको सहभागितालाई थप मजबुत बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












