२०८२ असार १४ गते
काठमाडौं। रामेछाप नगरपालिका–१ गोठगाउँकी पल्पसा थापाले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा ४.०० जिपीए प्राप्त गर्दै आफ्नो गाउँ, विद्यालय, र सम्पूर्ण समाजको शिर गर्वले उचो बनाएकी छन्।
उनी निम्नवर्गीय पृष्ठभूमिमा हुर्केकी पल्पसा खड्ग बहादुर थापा र सावित्रा थापाकी कान्छी छोरी हुन्, जसले कठोर परिश्रम, आत्मबल र लगनशीलतामार्फत असाधारण सफलता हासिल गरेकी हुन्।
पल्पसाले काठमाडौँस्थित कुलेश्वर आवास माध्यमिक विद्यालयबाट SEE परीक्षा दिएकी हुन्। तर उनको शैक्षिक यात्रा भने आफ्नै गाउँको श्री भुमेश्वर आधारभूत विद्यालयबाट सुरु भएको थियो। गाउँकै सरकारी विद्यालयमा अध्ययन गर्दै उनले प्रारम्भिक तहमा राम्रो शैक्षिक आधार तयार गरेकी थिइन्।
गोठगाउँको थापा परिवारकी एक असल छोरीका रूपमा चिनिएकी पल्पसा शिक्षामा शुरूदेखि नै अब्बल र अनुशासित रहिएकी थिइन। बुबा खड्ग बहादुर थापा मजदुरी पेशामा संलग्न छन् भने आमा सावित्रा थापा गृहिणी हुन्। उनीहरूको अथक मिहिनेत र छोरीप्रतिको विश्वास नै पल्पसाको सफलताको आधार बनेको छ। पारिवारिक आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि पल्पसाले शिक्षा प्रति कहिल्यै सम्झौता गरिनन्। बिहानपख पढाइ, बेलुकापख गृहकार्य अनि अभिभावकका काममा सहयोग गर्दै उनले आफ्नो लक्ष्यप्रति दृढ संकल्पका साथ अघि बढिन्। उनले भनिन्,
“घरको अवस्था राम्रो थिएन, तर मसँग सपना थियो – पढेर केही बन्ने। आजको सफलताले त्यो सपना सम्भव हुने संकेत देखाएको छ।”
पल्पसाको यो सफलता उनको परिवारका लागि मात्र होइन, समग्र गाउँका बालबालिकाहरूका लागि पनि उज्यालो प्रेरणा बनेको छ। उनका शिक्षकहरू भन्छन्, “पल्पसाले देखाएको मेहनत र नम्रता हरेक विद्यार्थीले सिक्नुपर्ने गुण हो।”
कुलेश्वर आवास माध्यमिक विद्यालयका प्रधानाध्यापक मेघराज दुलाल ले पल्पसाको समर्पणको उच्च प्रशंसा गर्दै भने, “पल्पसाले शैक्षिक क्षेत्रमै होइन, सामाजिक रूपमा पनि विद्यालयको गौरव बढाएकी छन्।” विद्यालयले उनलाई विशेष सम्मान गर्ने तयारी गरिरहेको छ।
स्थानीय पत्रकार रविन थापाले लेखेका छन्,
“निम्न आर्थिक पृष्ठभूमिबाट आएका विद्यार्थीले जब यस्तो उच्च सफलता हासिल गर्छन्, तब त्यो केवल व्यक्तिगत विजय मात्र हुँदैन, त्यो त समुदायकै जित हो।”
पल्पसाले अब विज्ञान संकाय लिएर भविष्यमा चिकित्सा क्षेत्रमा प्रवेश गर्ने लक्ष्य बनाएकी छन्। उनले शिक्षक, विद्यालय परिवार, अभिभावक र सबै शुभेच्छुकलाई धन्यवाद दिँदै भनेकी छन्, “मलाई विश्वास छ, म अझ राम्रो गर्न सक्छु।”
पल्पसा थापा, उनका अभिभावक, शिक्षक तथा विद्यालय परिवारलाई यस प्रेरणादायी सफलताका लागि हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


