साउन ९
रौतहट, साउन ९ – वैदेशिक रोजगारीको आशामा पोर्चुगल हिँडेका रौतहट जिल्ला ईशनाथ नगरपालिका–६ का जयप्रकाश यादव विगत ४ महिनादेखि युक्रेनको जेलमा थुनामा परेका छन्।
२४ वर्षीय यादव मानव तस्करमार्फत पोर्चुगल जान भनेर केही महिनाअघि भारत हुँदै गैरकानुनी रुपमा युरोपतर्फ लागेका थिए। तर युक्रेन–हंगेरी सीमाबाट पार हुँदै गर्दा युक्रेनी सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उनलाई जेलमा राखिएको पारिवारिक स्रोतले जनाएको छ
।जयप्रकाशको दाजु संजय यादवका अनुसार उनीसँग सम्पर्क नहुँदा परिवार अत्यन्त चिन्तित थियो। पछि रेडक्रस र केही अन्तर्राष्ट्रिय संस्थामार्फत जानकारी आएपछि उनी युक्रेनको एक आव्रजन थुनामा भएको पुष्टि भएको हो।“उनी कानुनी बाटो नअपनाई एजेन्टको सहारामा हिँडेका थिए।
अहिले जेलमा छन् तर हाम्रो परिवारसँग कानुनी लड्न र रिहाइ गराउन पैसा छैन,” संजयले भने।चार महिनादेखि जेलमा रहेका जयप्रकाशको अवस्था के छ भन्ने स्पष्ट विवरण भने आएको छैन। उनको उद्धारका लागि परिवारले नेपाली सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
नेपाल सरकारले युक्रेनस्थित नेपाली दूतावास नभएकाले हाल वार्सा, पोल्याण्डस्थित नेपाली दूतावासमार्फत समन्वय भइरहेको बताइएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार “सम्पर्कमा आएका छन्, प्रक्रिया अघि बढाइएको छ
।”पोर्चुगल जाने लोभमा परेर युरोपको खतरनाक बाटो रोज्दा सयौं नेपाली जस्तै जयप्रकाश पनि अहिले संकटमा परेका छन्। स्थानीयस्तरमा समेत उनलाई सहयोग गर्न पहल हुनुपर्ने आवाज उठ्न थालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












