भदौ २०, २०८२ – रामेछाप
रामेछाप नगरपालिका यसै भदौ २१ गते शनिबार ‘बालमैत्री स्थानीय शासनयुक्त पालिका’ घोषणा गर्ने भएको छ।

बालबालिकाको अधिकार र भविष्यलाई केन्द्रविन्दुमा राख्दै गरिएको यो ऐतिहासिक घोषणाका लागि नगरपालिका अन्तिम तयारीमा जुटेको छ।
नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्कीले मूल आयोजक समिति सहित १० वटा उपसमिति गठन गरिएको जानकारी दिएकी छन्। उनका अनुसार सभास्थल व्यवस्थापनदेखि सांस्कृतिक कार्यक्रम, सुरक्षा र प्रचार–प्रसारसम्मका तयारी तीव्र गतिमा अघि बढाइएका छन्।
विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ प्रमुख अतिथि हुनेछन्। सो अवसरमा रामेछाप नगरपालिका–८ को टुँडीखेलमा विशेष कार्यक्रम आयोजना गरिनेछ।
नगरपालिकाले सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई बालमैत्री नगर घोषणालाई ऐतिहासिक बनाउन आह्वान गरेको छ।
रामेछाप नगरपालिकाले २०७८ साल फागुन २ गतेदेखि बालमैत्री स्थानीय शासन (CFLG) कार्यान्वयन गर्दै आएको छ। बाल अधिकारको संरक्षण, प्रवद्र्धन र बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सुरु भएको यो अभियानअन्तर्गत नगरका ९ वटै वडाहरु गत जेठ २७ गते बालमैत्री घोषणा भइसकेका छन्।
नगरपालिका स्तरको औपचारिक घोषणा भएपछि बालमैत्री नीति, योजना र संरचनाहरू अझ प्रभावकारी ढंगले कार्यान्वयन हुने अपेक्षा गरिएको छ। यसअघि जिल्लाकै मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेको छ भने अब रामेछाप नगरपालिकाले पनि बाल अधिकारमैत्री शासनमा नयाँ अध्याय थप्न लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


