RBN Online खबर

४६ वर्षपछि पुनः जीवन्त भयो ऐतिहासिक ‘सिन्धुली गढी घुमेर हेर्दा…’ गीत

सिन्धुली — सिन्धुलीको ऐतिहासिक पहिचान बोकेको गीत फेरि एकपटक नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ।

करिब ४६ वर्षअघि, सन् १९७९ (२०३६ साल) मा रेडियो नेपालमा रेकर्ड भएको र त्यतिबेला प्रथम पुरस्कार जितेर देशभर ख्याति कमाएको “सिन्धुली गढी घुमेर हेर्दा…” बोलको गीत अहिले नयाँ पुस्ताको स्वरमा पुनः प्रस्तुत गरिएको हो।


शब्द, संगीत र स्वर तीनै पक्ष स्वर्गीय कृष्णविक्रम थापाको योगदानमा बनेको यस गीतलाई यसपटक उनका जेठा पुत्र राजु थापाले आफ्नै स्वरमा उतारेका छन्। बुबाको सिर्जनात्मक धरोहरलाई निरन्तरता दिने उद्देश्यले तयार पारिएको गीतको भिडियो सिन्धुली जिल्लाकै रमणीय भू–परिवेश र ऐतिहासिक स्थलमा छायांकन गरिएको छ।


भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्की प्रमुख भूमिकामा छन् भने पवन केसी, सत्यदेवी, पवित्रा रम्तेल र काजीउ थापाले सहायक भूमिका निर्वाह गरेका छन्। उनीहरूको अभिनयले सिन्धुलीको गौरव र पहिचानलाई झन् स्पष्ट पारेको छ।


गीतको दृश्यलाई बासु बरालले क्यामेरामा कैद गरेका छन्। रमणीय सिन्धुली गढी, डाँडाकाँडा र स्थानीय जनजीवनलाई भिडियोमा उतार्दै उनले गीतलाई थप आकर्षक बनाएका छन्। भिडियो निर्देशन भने अनुभवी निर्देशक क्रान्ति केसीले गरेका छन्।


४६ वर्षअघिको ऐतिहासिक पुरस्कार विजेता गीतलाई नयाँ स्वरूपमा पुनः प्रस्तुत गरी सार्वजनिक गरिएको यो गीतले विगत र वर्तमानबीच पुलको काम गर्ने अपेक्षा गरिएको छ। “सिन्धुली गढी घुमेर हेर्दा…” अब केवल एउटा गीत मात्र नभई सिन्धुलीको गौरव गाथाका रूपमा फेरि जनसमक्ष आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

Loading spinner

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Scroll to Top