२०८२ असोज २२ गते
रामेछाप । रामेछाप नगरपालिका–१ गोठगाउँका समाजसेवी प्रेमबहादुर थापाले अनौपचारिक कार्यक्रममार्फत श्री भूमेश्वर आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ।

उहाँले विद्यालयका विद्यार्थीहरूका लागि कपी, कलम, पेन्सिल लगायतका सामग्रीहरू उपलब्ध गराउँदै शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्याउनुभएको हो।
उक्त अनौपचारिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार थापा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर थापा, निवर्तमान वडा अध्यक्ष नर बहादुर थापा, श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोप बहादुर थापा, श्री भूमेश्वर आधारभूत विद्यालयका पूर्व शिक्षक इन्द्र बहादुर थापा श्री भूमेश्वर आधारभूत विद्यालयका भूतपूर्व प्रधानाध्यापक ऋषिराम सापकोटा तथा स्थानीय अभिभावकहरू उपस्थित रहेका थिए।
प्रधानाध्यापक थापा मगरले समाजसेवी प्रेमबहादुर थापाको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “उहाँको सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि र आत्मविश्वास बढेको छ। यस्ता पहलहरूले ग्रामीण विद्यालयहरूको स्तर सुधार गर्न मद्दत गर्छ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर थापाले पनि सहयोगी भावना भएका स्थानीय व्यक्तिहरूकै कारण विद्यालयमा सुधार हुँदै गएको बताउँदै प्रेमबहादुर थापालाई धन्यवाद ज्ञापन गर्नुभयो।

समाजसेवी प्रेमबहादुर थापाले यसअघि पनि श्री चण्डेश्वरी माध्यमिक विद्यालय, गोठपानी मा शैक्षिक सामग्री वितरण गर्दै आउनुभएको थियो। गत वर्ष उहाँले सो विद्यालयका विद्यार्थीहरूलाई सामग्री प्रदान गर्नुभएको थियो, जसले विद्यालय परिवार र विद्यार्थीहरूमा अध्ययन–अध्यापनप्रतिको हौसला जगाएको थियो।
थापाले गाउँमा शिक्षाको पहुँच र गुणस्तर सुधारका लागि आफू सधैं प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार, “शिक्षा नै विकासको मूल आधार हो, त्यसैले गाउँमै शैक्षिक वातावरण सुधार गर्न सकिए समाजिक रूपान्तरण सम्भव हुन्छ।”
कार्यक्रमको अन्त्यमा विद्यालय परिवार र स्थानीयवासीहरूले उहाँप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले गाउँमा सकारात्मक सन्देश फैलिएको बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












