कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सार्वजनिक यातायात प्रणाली वर्तमानमा अव्यवस्थित र चुनौतीले भरिएको एक अध्ययनले देखाएको छ ।
ऋति फाउन्डेसन नामक संस्थाले ‘वीरेन्द्रनगरमा सार्वजनिक यातायातको अवस्था र व्यवस्थापन’ विषयमा एक अध्ययन गरेको हो । उक्त अध्ययन प्रतिवेदनले प्रदेश राजधानीको सार्वजनिक यातायातको अवस्था निकै जर्जर रहेको निष्कर्ष निकालेको छ ।
अध्ययनले सहरमा अटोरिक्सामाथिको अत्यधिक निर्भरता, यसका समस्याहरू र व्यवस्थित नगर बस प्रणालीको लागि जनचाहनालाई उजागर गरेको छ ।

अध्ययन प्रतिवेदनअनुसार वीरेन्द्रनगरमा हाल सार्वजनिक यातायातको मुख्य आधार अटोरिक्सा बनेको छ, तर यसको सञ्चालन अव्यवस्थित, भाडादर मनोमानी र ट्राफिक जामको समस्याले यात्रुहरूले असुविधा र असुरक्षित यात्राको सामना गर्नुपरेको छ ।
अटोरिक्सा र नगर बस दुवैको विशिष्टतालाई स्वीकार गर्दै एक–अर्काका पुरकका रूपमा व्यवस्थित गर्ने पुरक प्रणाली नै वीरेन्द्रनगरका लागि उपयुक्त हुन्छ,’ अध्ययनको निष्कर्ष छ । यस प्रणालीमा मुख्य ठुला रुटहरूमा नगर बस सञ्चालन गरी सहायक रुट र भित्री क्षेत्रमा अटोरिक्सालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ ।

अटोरिक्साको एकाधिकार र चुनौती
वीरेन्द्रनगरमा सार्वजनिक यातायातको एउटै मात्र माध्यम अटोरिक्सा हुनुले एकाधिकारको सम्भावना बढेको छ । गत साउन ४ गतेसम्म वीरेन्द्रनगर नगरपालिकाबाट १ हजार २४९ वटा अटोरिक्साले बाटो इजाजतपत्र लिएका छन्, जुन निर्देशिकाले तोकेको संख्या (८००) भन्दा धेरै हो । राजधानी वीरेन्द्रनगरमा ०७४ सालदेखि अटोरिक्सा सञ्चालनमा आएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष ०७४/०७५ तिर ३७१ वटा अटोरिक्सा मात्रै वीरेन्द्रनगरमा सञ्चालन भएका थिए । ७ वर्षको अवधिमा यो चार गुणाले वृद्धि भएको छ । अझ यातायात व्यवस्थापन कार्यालय सुर्खेतमा भने कुल १८८४ वटा अटोरिक्सा दर्ता भएका छन् । यसले अटोरिक्साको संख्या मागभन्दा बढी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?












